नेपालसँग द्विपक्षीय सम्बन्ध गाँस्ने देशको संख्या १८५ पुग्यो

डिसी नेपाल
३० भदौ २०८३ १०:५८

काठमाडौं।  नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र माइक्रोनेसियाका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेसँगै दुई देशबीच औपचारिक सम्बन्ध कायम भएको हो।

यससँगै नेपालले कूटनीतिक सम्बन्ध विस्तार गरेका देशहरूको सङ्ख्या १८५ पुगेको छ।

हस्ताक्षर समारोहमा दुवै देशका राजदूतहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा चासोका विषयमा पारस्परिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। दुवै देश ‘जी-७७ र चाइना’ समूहका सदस्य भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी साना टापुहरू मिलेर बनेको द्वीपीय राष्ट्र माइक्रोनेसियाले ३ नोभेम्बर १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो भने १७ सेप्टेम्बर १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता लिएको थियो। ७०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस देशको अनुमानित जनसङ्ख्या करिब एक लाख रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *