आइतबारको सार्वजनिक बिदा खारेज गरौं : राप्रपा सांसद भाट

डिसी नेपाल
३० भदौ २०८३ १५:४२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण विशेषगरी शैक्षिक संस्थाहरूको अध्ययन-अध्यापन गम्भीर रूपमा प्रभावित भएको बताएका हुन्।

आइतबारको बिदा कसैका लागि पनि फलदायी नभएको उल्लेख गर्दै उनले यसलाई तत्काल खारेज गरी सातामा पूर्ववत् एक दिन (शनिबार) मात्र बिदा दिने व्यवस्था कायम गर्न आग्रह गरे। “शैक्षिक संस्थादेखि सबै क्षेत्रमा यसले नकारात्मक असर पारिरहेको छ। त्यसैले सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा मात्र कायम गरोस्,” उनले बैठकमा भने।

साथै, सांसद भाटले कुनै पनि विपद्का समयमा सहयोगको वातावरण निर्माणमा मुस्लिम समुदायले पुर्‍याएको योगदानप्रति धन्यवाद समेत ज्ञापन गरे।

स्मरण रहोस्, मध्यपूर्वमा सिर्जित तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि खपत घटाउने उद्देश्यले सरकारले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *