गुडिरहेका चार बसमाथि ढुङ्गाप्रहार : एक यात्रु घाइते, पाँच जना पक्राउ

डिसी नेपाल
३१ भदौ २०८३ १७:४५

हेटौँडा । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–३ बसामाडी नजिक गुडिरहेका चार वटा यात्रुवाहक बसमाथि अन्धाधुन्ध ढुङ्गाप्रहार भएको छ। बुधबार बिहान करिब २:१५ बजे काठमाडौंतर्फ जाँदै गरेका बसहरूमा अज्ञात समूहले ढुङ्गाप्रहार गर्दा बसका सिसा फुटेका छन् भने एक यात्रु घाइते भएकी छन्।

ढुङ्गाप्रहारबाट बा प्र ०३-००१ ख १६४२, बा प्र ०३-००२ ख २५९२, लु प्र ०२-००२ ख १२४० र लु प्र ०३-००२ ख ०४४२ नम्बरका बसका साथै बागलुङबाट वीरगञ्ज जाँदै गरेको म प्र ०३-००२ ख ७८७७ नम्बरको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ।

ढुङ्गा लागेर रुपन्देही ओमसतिया–६ की २१ वर्षीया लक्ष्मीकुमारी चौधरी घाइते भएकी छन्। टाउकोमा चोट लागेकी चौधरीको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने स्थितिमा रहेको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्न ६ जनामध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पक्राउ पर्नेमा हेटौँडा–३ लेवटका किरण विक (२७), अंकित राई (३०), सुग्रीव मुक्तान (३९), विजय थिङ लामा (२९) र उदास तामाङ (२९) रहेका छन्।

उनीहरूमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। फरार रहेका थप एक जनाको खोजी भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *