भोटेकोसी बाढीका बेपत्ता परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिन रास्वपा सांसद नीतिका कार्कीको माग

डिसी नेपाल
६ असोज २०८३ १४:१४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिका कार्कीले भोटेकोसीको बाढीमा परी बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत, क्षतिपूर्ति र मनोसामाजिक परामर्शको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

मंगलबार संसद्‌मा बोल्दै सांसद कार्कीले भोटेकोसीको बाढीले स्थानीय नागरिकका साथै रोजगारीका लागि विभिन्न जिल्लाबाट पुगेका श्रमिक तथा प्राविधिकका परिवारलाई ठूलो पीडा दिएको बताएकी छन्।

“केही परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कार गरिसकेका छन् भने केही परिवार अझै उनीहरू फर्किने आशामा पर्खिरहेका छन्,” उनले भनिन्।

आफ्नो निर्वाचन क्षेत्रका मात्रै ५ जना नागरिक अझै बेपत्ता रहेको उल्लेख गर्दै सांसद कार्कीले उनीहरूका श्रीमती, बालबालिका र परिवारको अवस्था निकै पीडादायी रहेको बताएकी छन्।

श्रीमान् फर्किने हुन् कि होइनन् भन्ने अन्योलका बीच महिलाहरूले घरपरिवारको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्नुपरेको परिस्थितिप्रति उनले संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्।

सांसद कार्कीले ४५ दिनसम्म पनि कुनै जानकारी नआएमा कानुनअनुसार बेपत्ता घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउन र राहत, क्षतिपूर्ति तथा बीमाको रकम पाउने प्रक्रिया सहज र छिटो बनाउन आग्रह गरेकी छन्।

यसैगरी, बेपत्ता परिवारका बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने, आर्थिक रूपमा कमजोर परिवारका महिलाका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरिनुपर्ने र पीडित परिवारलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शको व्यवस्था मिलाइनुपर्ने मागसमेत उनले राखेकी छन्।

सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, “यी परिवारलाई अनिश्चित प्रतीक्षामा मात्र राख्नु हुँदैन, उनीहरूको दुःखमा राज्यको साथ र उपस्थिति देखिनुपर्छ। खोजी कार्य जारी राख्दै परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराइओस्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *