‘आशा’ फिल्मकी निर्मात्री शर्मिला थापा नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्लाही। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि गत मङ्गलबार सर्लाहीको बयलबासस्थित गल्ला व्यापार सङ्घको भवनमा मतदान सम्पन्न भएको थियो। उक्त निर्वाचनमा युवा महिलातर्फ उम्मेदवारी दिएकी थापाले ६९७ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत प्राप्त गरेकी थिइन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै निर्मात्री थापाले आगामी दिनमा कला क्षेत्रको हितका लागि नेपाली काङ्ग्रेसभित्र सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“नेपाली काङ्ग्रेसले युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यसपटक मलगायत धेरै युवा महाधिवेशनमा सहभागी हुँदैछौँ। त्यहाँ हामीले युवाका समस्यालाई सशक्त रूपमा उठाउनेछौँ,” थापाले भनिन्, “साथै, म कला क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले यस क्षेत्रको आवाजलाई बुलन्द रूपमा उठाउनेछु। नेपाली काङ्ग्रेसलाई कला क्षेत्रमैत्री बनाउन मेरो निरन्तर भूमिका रहनेछ।”
निर्मात्री थापाले निर्माण गरेको नयाँ चलचित्र ‘आशा’ आगामी माघे सङ्क्रान्तिलाई लक्षित गर्दै माघ १ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment