बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका राजमार्ग पूर्ण अवरुद्ध

डिसी नेपाल
१७ असोज २०८३ ७:२७

काठमाडौं। लगातारको बाढी तथा पहिरोका कारण मुलुकका विभिन्न भागमा मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध बनेका छन्। शनिबार बिहान ६:४५ बजेसम्मको अद्यावधिक विवरण अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व) र हुम्लाका विभिन्न सडकखण्डमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ।

रसुवा जिल्लामा गत भदौ १० गतेदेखि नै बाढीका कारण मुख्य राजमार्गका सबै सडकहरू पूर्ण रूपमा ठप्प छन्। ती सडकखण्ड अर्को सूचना नभएसम्म सञ्चालनमा आउन नसक्ने नेपाल प्रहरी तथा स्थानीय प्रशासनले जनाएका छन्।

त्यस्तै, गण्डकी प्रदेशको मनाङमा असोज ८ गते आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसार जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरसम्मको बेनी-जोमसोम सडकखण्ड पनि असोज १० गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

यसैगरी, कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन एकतर्फी मात्र सीमित भएको छ। नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते खसेको पहिरो र बौदीकाली गाउँपालिका-३ जन्तीमा असोज १४ गते गएको पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी मात्र सञ्चालनमा आएको हो। जन्ती सडकखण्डमा पहिरोकै कारण ठूला सवारीसाधन सञ्चालन हुन नसक्ने अवस्था छ।

कर्णाली प्रदेशको हुम्लामा पनि असोज १२ गतेदेखि पहिरोका कारण सडक अवरुद्ध रहेको र सडक खुलाउने प्रयास जारी राखिएको जनाइएको छ।

विपद्का कारण रोकिएका सडकहरू पन्छाएर यातायात सुचारु गराउन सम्बन्धित निकायहरू निरन्तर खटिरहेका छन्। यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सर्वसाधारण एवं यात्रुहरूलाई अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *