एनआरएनए कतारको ‘स्नेह मिलन २०२६’ श्रमिकसम्म सूचना पुर्‍याउन आग्रह

डिसी नेपाल
२६ असोज २०८३ ८:०४
24
Shares

दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारले ‘स्नेह मिलन २०२६’ कार्यक्रमका वास्तविक लाभग्राही श्रमिकसम्म सूचना पुर्‍याउन कतारमा क्रियाशील संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायसँग सहयोगको आग्रह गरेको छ।

एनआरएनए कतारले गत ४ अक्टोबरदेखि कार्यक्रमका लागि आवेदन फारम खुला गरेको जनाएको छ। हालसम्म केही आवेदन प्राप्त भए पनि कार्यक्रमबाट लाभान्वित हुन सक्ने न्यून आय भएका नेपाली श्रमिकहरूसम्म कार्यक्रमको उद्देश्य र आवेदन प्रक्रियाबारे पर्याप्त जानकारी पुग्न नसकेको परिषद्ले जनाएको छ।

लामो समयदेखि परिवारबाट टाढा रहेर कतारमा कार्यरत न्यून आय भएका नेपाली श्रमिकलाई आफ्ना प्रियजनसँग पुनर्मिलन गराउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानलाई लक्षित वर्गसम्म पुर्‍याउन सबै पक्षको सहकार्य आवश्यक रहेको परिषद्को भनाइ छ।

एनआरएनए कतारका महासचिव शिव भुजेलले कतारमा स्थापित सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता र नेपाली समुदायका सदस्यहरूलाई कार्यक्रमको मापदण्डअनुसार योग्य श्रमिकको पहिचान गरी आवेदन प्रक्रियामा आवश्यक सहयोग तथा सहजीकरण गरिदिन आग्रह गरेका छन्।

कार्यक्रमका वास्तविक हकदार श्रमिकले अवसर र प्रक्रियाबारे जानकारी नपाएकै कारण लाभ लिनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सूचना प्रवाह र समन्वयमा सहयोग गर्न परिषद्ले अपिल गरेको हो।

‘यहाँहरूको सानो सहयोग कुनै श्रमिकको परिवारसँग भेट्ने ठूलो सपना पूरा गर्ने माध्यम बन्न सक्छ,’ महासचिव भुजेलले आग्रह गर्दै भनेका छन्। परिषद्ले ‘स्नेह मिलन २०२६’ लाई प्रभावकारी बनाउन योग्य श्रमिकसम्म सूचना पुर्‍याउन र आवेदन प्रक्रियामा सहजीकरण गर्न कतारस्थित नेपाली समुदायलाई हातेमालो गर्न आह्वान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *