काठमाडौंमा तीव्र रूपमा घट्दै तापक्रम, आज कति छ न्यूनतम?
काठमाडाैं।केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दै गएको र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा दुई हप्ताकै अवधिमा न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटिसकेको छ।
बुधबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाकाअनुसार गत अक्टोबर १ तारिखमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेकोमा त्यसयता घट्दै क्रमशः १८, १७, १६ र १५ हुँदै १४ डिग्री सेल्सियसमा झरेको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। बिहान ८:४५ बजेको वास्तविक मापनमा प्रारम्भिक तथ्यांकभन्दा तापक्रम अझै थोरै घट्न सक्ने सम्भावना रहन्छ।
देशभर पश्चिमी वायुको प्रभाव फैलिएसँगै चिसो बढ्दै गएको हो। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव रहेको छ। यद्यपि सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको छ।
देशका बाँकी भूभागबाट पनि छिट्टै मनसुन पूर्ण रूपमा बाहिरिने मौसमविद्को भनाइ छ। मनसुन पूर्ण रूपमा बाहिरिएपछि ‘पोस्ट-मनसुन’ सिजन सुरु हुन्छ, जुन अक्टोबर र नोभेम्बर गरी दुई महिनासम्म रहन्छ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना नेपालमा हिउँद (विन्टर) अर्थात् जाडो याम लाग्छ।
हिउँद सकिएपछि मार्च १ देखि मे महिनासम्म तीन महिना ‘प्रि-मनसुन’ सिजन रहन्छ र त्यसपछि पुनः मनसुन प्रवेश गर्छ। मौसमविद्का अनुसार नेपालको मौसमलाई मुख्यतया प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी चार भागमा वर्गीकरण गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment