पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ
वीरगन्ज। पर्सा जिल्लामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सबैभन्दा बढी सामाजिक अपराधका रहेका छन्।
प्रहरीका अनुसार एक महिनाको अवधिमा सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएका छन्।
अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। यस अवधिमा कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटनासमेत अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
लागुऔषध नियन्त्रणतर्फ प्रहरीले १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ।
यसैगरी, अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त कसुरमा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवानासमेत गरिएको छ।
गत महिनाको अवधिमा जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment