राष्ट्रिय सभा गृहमा २९ देशका ७९ चलचित्र

डिसी नेपाल
२२ मंसिर २०७६ १६:३८

काठमाडौं । बुधबारदेखि काठमाडौंमा १७औँ काठमाडौं इन्टरन्यासनल फिल्म फेस्टिभल (किम्फ) को आयोजना हुने भएको छ । आयोजकले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो ।

यो महोत्सब चलचित्र पारखिहरुका लागि विशेष हुनेछ । महोत्सवमा २९ वटा देशका ७९ वटा चलचित्रहरु देखाइनेछन् । गत वर्षझैँ यस वर्ष पनि महोत्सवका लागि डकुमेन्ट्री, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगात्मक चलचित्रहरु छनोट गरिएको महोत्सवका अध्यक्ष बसन्त थापाले बताए । थापाका अनुसार यो महोत्सवले विविध आवाज र गाथालाई समेट्ने प्रयास गरेको छ । त्यसैले महोत्सवको ट्यागलाइन ‘भ्वाइसेस फ्रम मार्जिन्स्’ (सीमान्त आवाज) राखिएको छ ।

महोतसवको अवसर पारेर सर एडमण्ड हिलरीको शतवार्षिकीसमेत मनाउने तयारी रहेको अध्यक्ष थापाले जानकारी दिए । जसका लागि ‘दि एसेन्ट अफ एभरेष्ट’ नामक चलचित्रको विषेश प्रदर्शन गरिने उनले बताए । थापाका अनुसार चलचित्रमा हिलरी र तेन्जिङ नोर्गेले २९ मे सन् १९५३ मा सफलतापूर्वक सर्वोच्च शिखरमा पुगेर विजय हासिल गरेको ऐतिहासिक क्षण समेटिएको छ ।

महोत्सवका लागि किम्फ र ओपन सोसाइटी फउन्डेसनले ‘परिवर्तित नेपाल’ शीर्षकमा लघुचलचित्र प्रतियोगितासमेत आयोजना गरेका छन् । प्रतियोगितामा तीन उत्कृष्ट लघुचलचित्रलाई क्रमशः ४० हजार ३० हजार र २० हजार रुपैयाँ पुरुस्कार दिइने आयोजकको भनाइ छ ।

किम्फ २०१९ का चलचित्रहरुमध्ये उत्कृट चलचित्र छनोटका लागि नेपालका तर्फबाट कलाकार अस्मिना रञ्जित, पोल्याण्डबाट फेस्टिभल डाइरेक्टर गाब्रियला क्हून, कोरियाबाट चलचित्र निर्देशक ली जे कू र बेलायतबाट आरेही फिल कोट्स निर्णायक छन् । उनीहरुले उत्कृष्ट तीन चलचित्र छनोट गर्नेछन् । जसलाई क्रमशः २ लाख १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार वितरण गरिनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)को हिउँचितुवा संरक्षणसम्बन्धी कथावाचन कार्यक्रम आयोजना हुनेछ । जसमा घनश्याम गुरुङ, समन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् । त्यस्तै अष्ट्रेलियाकी चलचित्र निर्माता माइकल डिलन र नेपाली कलाकार छेरिन शेर्पाले चलचित्र सम्बन्धी मास्टर क्लाससमेत दिने आयोजकले जनाएको छ ।

हिमाल एसोशिएसनको आयोजनामा सञ्चालन हुने महोत्सव राजधानीस्थित राष्ट्रिय सभा गृहमा ११ बुधबारदेखि आइतबारसम्म ५ दिन सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *