अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्ध महाभियोग प्रस्ताव कंग्रेसबाट पारित

डिसी नेपाल
३ पुष २०७६ १०:५५

बासिङ्गटन डिसी । अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनल्ड जे ट्रम्पबिरुद्ध महाभियोग लागाउनेसम्बन्धी प्रस्तावमा डिसेम्बर १८  साँझमा मतदान गर्दै पारित गरेको छ ।

डेमोक्र्याटहरुको बहुमत रहेको सो संसदमा महाभियोगसम्बन्धी प्रस्तावको पक्षमा २३० मत र विपक्षमा १९७ मत परेको थियो । त्यसैगरी ३ सांसदहरुले नो भोट मा मतदान गरेका थिए । मतदानमा डेमोक्रेटिक पार्टीका दुईजना सांसदहरुले राष्ट्रपति ट्रम्पका पक्षमा मतदान गरेका छन् ।

संसद्की सभामुख डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पलोसीले राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग हाउस अफ रिप्रिजेनटेटिभबाट पारित भएको घोषणा गरेकी थिइन् ।
राष्ट्रपति ट्रम्पबिरुद्ध अधिकारको दुरुपायोग गरी व्यक्तिगत राजनैतिक फाइदाका लागि काम गरेको र अमेरिकी कंग्रेसको छानविन प्रक्रियालाई अबरोध गरेको गरी दुईवटा गम्भीर आरोपहरु लगाइएको छ । दुबै आरोपबारे संसद्मा छुट्टा छुट्टै मतदान गरिएको थियो ।

युक्रेनलाई अमेरिकाले दिने तय भएको सैन्य सहयोग रोकी आफ्ना राजनैतिक प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतिका उम्मेद्वार जो वाइडेन र उनका छोरामाथि छानविन गर्न युक्रेनलाई दवाव दिएको आरोप राष्ट्रपति ट्रम्पमाथि लागाइएको छ ।

कंग्रेसबाट महाभियोग लगाइए पनि यो प्रस्ताव अमेरिकी अर्को संसद सिनेटमा प्रस्तुत गर्नुपर्ने कानूनी व्यबस्था छ । दुबै संसदबाट पारित नभएसम्म राष्ट्रपतिमाथि महाभियोग पारित भएको मानिदैन र उनले पदत्याग गर्नु पर्दैन । सिनेटमा राष्ट्रपतिको पार्टी रिपब्लिकको बहुमत छ ।

अहिलेसम्मको छलफलमा कुनै पनि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपतिबिरुद्ध महाभियोगको पक्षमा मतदान गर्न कोही तयार देखिएका छैनन् । राष्ट्रपति ट्रम्प र रिपब्लिकनहरुले महाभियोगलाई ‘ह्वीच हन्ट’ भनेका छन् । महाभियोग प्रकरणमा अमेरिकी राजनीति निकै विभाजित देखिएको छ ।

ट्रम्प समर्थकहरुले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि त्यसलाई स्वीकार्न नसकेर माहाभियोगको नाटक गरेको आरोप लगाउँदै आएका छन् ।
बासिङ्गटन डिसीमा उनीबिरुद्ध महाभियोगको पक्ष—विपक्षमा मतदान भइरहेका बेला राष्ट्रपति ट्रम्प भने मिचिगन राज्यमा एक र्‍यालीको आयोजना गरी विपक्षीबिरुद्ध खनिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *