हाप्किडो खेलको अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने
पोखरा । हाप्किडो खेललाई परिचित गराउँदै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउने लक्ष्यसहित पोखरामा ‘प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सम्मेलन’ गरिने भएको छ।
नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घको आयोजनामा आगामी माघ ११ र १२ गते हुने सम्मेलनमा नेपालसहित करीब २० देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६०० को सहभागिता रहने साउथ एशियन हाप्किडो महासङ्घका समेत अध्यक्ष रहेका सङ्घका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए ।
सो सेमिनारमा अमेरिका, अष्ट्रिया, रसिया, दक्षिण कोरियाका ग्राण्डमास्टर तथा नेपालका मास्टर सङ्घका अध्यक्ष घर्ती र आठौँ साफमा स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिने कार्यक्रम रहेको उनले बताए ।
दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को ‘मिक्स’ खेल भएको तथा आत्मरक्षा र सामाजिक अनुशासनका लागि समेत खेल महत्वपूर्ण मानिने सङ्घका केन्द्रीय सदस्य सुवर्ण बिसीले बताए ।
विसं २०७३ मा पहिलोपटक राष्ट्रिय खेलकूद परिषद्मा हाप्किडो सङ्घ दर्ता भएको बताउँदै अध्यक्ष घर्तीमगरले सोही वर्ष नै राष्ट्रिय सम्मेलन तथा तथा विसंं २०७४÷७५ मा जिल्ला प्रतियोगिता, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको उनले जानकारी दिए ।
सङ्घले गत कात्तिक १ र २ गते रोल्पामा शहीद स्मृति मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो। देशभर करीब १० हजारको हाराहारीमा हाप्किडोका खेलाडी रहेका बताइन्छ।
पोखरामा आयोजना गरिने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन भूमिका खेल्ने बताइन्छ। सम्मेलन सम्पन्न गर्न रु ४० देखि ५० लाख हाराहारीमा खर्च लाग्ने आयोजकको अनुमान छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment