लेखनाथ महोत्सवमा घन्कियो रत्यौली र मारुनी, नाचमा झुमे दर्शक
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा जारी १६औँ लेखनाथ महोत्सवमा सोमबार रत्यौली, मारुनीलगायतका परम्परागत संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको छ।
महोत्सवमा विभिन्न विद्यालयका तर्फबाट विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न आमा समूहले प्राचीन मौलिकतामा आधारित प्रस्तुति देखाएका थिए।
विद्यालयस्तरीय नृत्यअन्तर्गत लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७ रिट्ठेपानीद्वारा प्रस्तुत परम्परागत ‘पैसा झारे मारुनी’ अन्तर्गतको वारि तुवाँलो, पारि तुवाँलो बोलको गीतको नृत्यले महोत्सवस्थलको माहौल तताएको थियो।
महोत्सवमा अमरज्योति गाउँफर्क मावि र लक्ष्मी माविका तर्फबाट पनि सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
त्यस्तै स्याङ्जाली तमु समाजको सांस्कृतिक नृत्य तथा नमूना आमा समूह पोखरा–२५ र खराने ताजा तरकारी कृषक समूह पोखरा–२६ को रत्यौली नृत्यले दर्शकका आकर्षित गरेको थियो।
नेपाली समाजमा बेहुलालाई चिटिक्क पारी सिङ्गारेर दुलही लिन पठाएपछि महिलाले मात्र मनोरञ्जनका रुपमा खेलिने रत्यौली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त नृत्य प्रस्तुत गरिएको हो।
महोत्सवमा सोमबार मात्रै करीब एक करोड बराबरको आर्थिक कारोवार भएको सङ्घका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
उनका अनुसार करीब १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।
हालसम्म करीब एक लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेको र रु पाँच करोड ५० लाख बराबरको आर्थिक कारोवार भएको सङ्घका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।
लोकदोहोरीतर्फ प्रजापति पराजुली, कृष्ण रेउले, चोलेन्द्र पौडेल, प्रदीप त्रिपाठी, सीता केसी, मञ्जु विक, काजल गुरुङ, माया गिरीलगायतका कलाकारको प्रस्तुति थियो भने हाँस्यतर्फ चक्लेटी र दारी बाको प्रस्तुति रहेको थियो ।
साँझको लाइभ कन्सर्टमा मिस्टर डि, विन्दु परियार र माया पुनको प्रस्तुतिका साथै मोडल नृत्य प्रस्तुत गरिएको आयोजकले जनाएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment