राराको किनारामा भ्रमण वर्षको शुभारम्भ, लक्ष्य २० हजार

डिसी नेपाल
१६ पुष २०७६ २०:४१

मुगु। नेपालमा २० लाख पर्यटकहरु भित्र्यााई आर्थिक विकासमा टेवा पुर्याउने सरकारको उद्देश्यलाई सफल पार्नका लागि बुधबार मुगुस्थित रारा तालको छेउ मिली चौरमा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमको आयोजना गरिएको छ। छाँयानाथ रारा नगरपालिकाले भ्रमण वर्ष २०२० शुभारम्भ गरेको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाया र छायाँनाथरारा नगरपलिकाका प्रमुख हरिजङ्ग शाहीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक पूर्ण बहादुर रोकायाले रारा तालको पर्यटन बिकासका लागि सम्बन्धित सरोकारवाला निकायहरु एकजुट भई अघि बढ्नुपर्ने बताए। छायाँनाथरारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि रारामा २० हजार पर्यटकहरु भित्र्याउन आव्श्यक पूर्वाधार निर्माणका लागि आधा करोड बजेट विनियोजन गरी तत्काल काम अघि बढाइने बताए। सोही कार्यक्रममा नगर प्रमुख शाहीले रारा जाऊ अभियान अन्तर्गत नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बिराटनगरमा राराको प्रचार प्रसारका लागि कार्यक्रम संचालन गर्ने बताए।

उपमेयर सुन्तला रोकायाले रारा तालको नाममा अन्यत्र जिल्लाका जनतालाई फाइदा भएपनि मुगाली जनताले केही नपाएको गुनासो गरिन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पर्यटन बिकासका लागि छायाँनाथ रारा नगरपालिकालगायत समन्वय समितीले बिशेष चासो लिएकोले अझै जिल्लाको बिकासका लागि र नेपाल भ्रमण बर्ष २०२० सफल पार्नका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।

रारा राष्टिय निकुञ्जका मुख्य संरक्षण अधिकृत लाल बहादुर भण्डारीले जैविक विविधताले भरिपूर्ण रारा ताल र निकुञ्ज क्षेत्रको पर्यावरण जोगाइ राख्नका लागि स्थानीय जनता सजक हुनुपर्ने बताए।

नेकपाका प्रतिनिधि जित बहादुर मल्लले भ्रमण बर्ष सफल पार्नका लागि पूर्वाधारको बिकास बिना नेपाल भ्रमण बर्ष २०२० सफल नहुने धरणा राखे। नेपाली काँग्रेसका प्रतिनिधि सिंह बहादुर मल्लले साँच्चीकै नेपाल भ्रमण बर्ष सफल पार्नका लागि रारा राष्टिय निकुञ्ज भित्र होटल संचालनका लागि अन्य व्यबसायीहरुलाई पनि निकुञ्जले अनुमति दिनुपर्ने बताए। वडानं २ का वडाध्यक्ष परेकराज चौलागाइ, नेपाल शिक्षक महांसंघका अध्यक्ष जंग बहादुर शाही, उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढालगायतका बक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि संबद्ध निकायले सडकको सुधारलगायत अबश्यक पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताएका थिए।

कार्यक्रममा रारा घुम्न आएका आन्तरिक पर्यटकहरुलाई खादालगाएर स्वागत गरिएको थियो । राराको मिलि चौरमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न बाजागाजा सहित झाँकी प्रस्तुत गरिएको थियो। नेपाल भ्रमण बर्ष २०२० को पूर्बसंध्यामा रारास्थित श्रीदल गुल्मको आयोजनामा तालको पेरीफेरीमा नेपाली सेनाद्वारा सरसफाइको आयोजना गरिएको श्रीदल गुल्मले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *