मुस्ताङमा भारी हिमपात, यातायात र सञ्चार सेवा अवरुद्ध

डिसी नेपाल
१९ पुष २०७६ ७:०५

ठिनी । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।

वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, मार्फा, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ।

जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङ जिल्लामा सञ्चारसमेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको मुस्ताङका बासिन्दा सुवास थकालीले बताए ।

घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन।

पर्यटकीय स्थलहरु पनि सुनसान छन् । भारी हिमपातका कारण हवाई उडान आज नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख दीपक विकले बताए ।

पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ। सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम चिसोका कारण प्रभावित बनेको छ।

उपल्लो मुस्ताङका बासिन्दाहरु कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।

वर्षा र हिमपातले कृषकहरुमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा दोस्रो पटक हिउँ परेको हो।

वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिङ शेरचनले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषकहरु बताउँछन्।

स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले बताए ।

स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *