इराकबाट थप ३० नेपाली स्वदेश फर्काइँदै
काठमाडौं। अमेरिकी आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकमा बढेको तनावका बीच इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास तथा अमेरिकी सैनिक बेस क्याम्पमा कार्यरत थप ३० जना नेपालीलाई नेपाल फर्काइँदैछ।
यसअघि आइतबार र सोमबार गरी सात जना नेपालीलाई स्वदेश फर्काइ सकिएको छ। इराकस्थित हाम्रा सहकर्मी विनोद श्रेष्ठका अनुसार बग्दादमा रहेका करिव ३० नेपालीसहित ८ सय विदेशी नागरिकलाई उनीहरुको मुलुक फर्काउने तयारी भएको हो।
इरानले मंगलबार राति अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरको थियो। त्यसअघि नै उनीहरुलाई सुरक्षित स्थल मानिने कुर्दिस्तानको इर्बिल पठाइएको थियो। स्वदेश फर्काउन लागेका नेपाली अमेरिकी सैनिक तथा दूतावासका उच्च पदस्थ अधिकारीको सहयोगी रुपमा कार्यरत छन्।
उनीहरुलाई इराकस्थित अमेरिकी दूतावासले एक महिनाको तलबसहित हवाइ टिकटको व्यवस्था गरेर विदा दिएको हो। इराकमा नेपाली दूतावास नभएकाले त्यहाँको बारे कुवेतस्थित नेपाली दूतावासले इराकबारे समन्वय गर्छ। उता इरानबारे भने पाकिस्तानस्थित नेपाली दूतावासले समन्वय गर्छ।
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले इराकमा रहेका नेपाली सुरक्षित रहेको बताएका थिए। मंगलबार डिसी नेपालसँग कुरा गर्दै राजदूत भण्डारीले अहिलेसम्म अप्ठेरो परेको भनेर कोही पनि नेपाली सम्पर्कमा नआएको बताएका थिए।
सहकर्मी श्रेष्ठका अनुसार हाल बग्दादस्थित अमेरिकी दूतावास, अमेरिकी सैनिक बेस क्याम्प तथा अमेरिकी सेनाकाे विमानस्थलमा कम्तिमा १४० जना नेपाली रहेको बुझिएको छ। दूतावासमा ६०, सेनाको बेस क्याम्पमा ७० र विमानस्थलमा १०० जना नेपाली रहेको उनले जानकारी दिएका छन्।
इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि अमेरिकन राजदूतावासका कर्मचारिहरुलाई सुरक्षामा बिशेष ध्यान दिन आग्रह गरेको छ। दूतावासबाट अमेरिकी उच्च अधिकारीहरु पनि अमेरिका फर्किएको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment