रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने
काठमाडौं। अभिनेता रमित ढुंगानाले फिल्म ‘माया नमार २’बाट आफ्नो छोरा ओजश्वीलाई अभिनेताको रुपमा डेब्यू गराउने भएका छन्। आईतबार आफ्नो जन्मदिन मनाउने क्रममा रमितले यो कुराको खुलासा गरेका हुन्।
आजभन्दा झण्डै १८ वर्षअघि प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित फिल्म ‘माया नमार’बाट रमितले अभिनय करिअर सुरु गरेका थिए। रमितका दाई अमित ढुंगानाले निर्माण गरेको ‘माया नमार’ सुपरहिट भएको थियो।
सोही फिल्मको सिक्वेलबाट रमितले आफ्नो छोरालाई अभिनेतामा लञ्च गर्ने भएका हुन्। यद्यपी फिल्मको निर्माण हुन अझ ४/५ वर्ष लाग्ने रमितले बताएका छन्। ‘शुरुमा दाई (अमित)को छोरा अमिरलाई खेलाउने कुरा थियो। स्किृप्ट पनि तयार गरेका थियौं। तर, उसले फिल्ममा अभिनय गर्ने रुचि देखाएन’ रमितले भने, ‘उसले नखेलेपनि ओजश्वीलाई लञ्ज गर्ने तयारी गरेका हौं। फिल्ममा अभिनय गर्ने उ आफैंको इच्छा हो।’
उनका १७ वर्षिय छोरा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। कम्प्यूटर इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका उनले फिल्मका लागि आफूले केही महिनायता तौल घटाइरहेको बताए। ‘फिल्म खेल्ने पहिल्यैदेखिको इच्छा हो, केही वर्षको तयारीपछि फिल्ममा आउनेछु’–बाबुको जन्मदिन कार्यक्रममा उपस्थित ओजश्वीले भने।
अभिनेता रमित र निर्माता अमित ‘माया नमार २’ बाट आफ्नो भान्जालाई पनि डेब्यू गर्ने तयारीमा छन्।
अभिनेता रमित फिल्म ‘राजा साहेब’को तयारीमा छन्। माघबाट यो फिल्मको छायाँकन हुने बताईएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment