कश्मिर हिमपहिरोमा पुरिएकी बालिकाको १८ घण्टापछि उद्धार

डिसी नेपाल
२ माघ २०७६ २१:१०

बीबीसी । पाकिस्तान प्रशासित कश्मिरस्थित आफ्नो घर हिमपात र पहिरोका कारण भत्किएपछि हिउँमा १८ घण्टासम्म पुरिएकी एक १२ वर्षीया बालिका जिवितै भेटिएकी छन्।

समिना बिबिले हिउँमुनी आफ्नो कोठामा पुरिएपछि सहायताका लागि चिच्याएको र कराएको रोयटर्स समाचार संस्थालाई बताएकी छन्। उनले आफूलाई उद्धार गरिनुअघि आफू त्यहिँ मर्छु भन्ने ठानेको बताएकी छन्।

हालैका दिनमा नीलम भ्यालीमा कम्तीमा ७४ जनाको ज्यान जाने गरी हिमपात भएको थियो र पहिरो गएको थियो। हिमालय क्षेत्रमा मौसमसम्बन्धी विपद्को सम्भावना रहन्छ र यसरी मृत्यु हुनेको सङ्ख्या हालैको समयमा सबैभन्दा बढी हो।

भारत प्रशासित कश्मिर र अफगानिस्तान पनि प्रभावित भएका छन्। तर पाकिस्तान प्रशासित कश्मिर र खासगरी नीलम भ्यालीमा सबैभन्दा बढी क्षति पुगेको छ।

समिनालाई बकवाली गाउँबाट उद्धार गरिएको थियो र उनलाई मुजफ्फराबादमा रहेको अस्पतालमा पुर्‍याइएको थियो। यद्यपि उनको परिवारका थुप्रै सदस्यको हिमपात र पहिरोका कारण ज्यान गएको छ।

उनकी आमा शहनाज बिबिले हिमपहिरोले घर भत्काउँदा आफ्नो परिवार तीन तल्लाको घरमा आगो तापेर बसिरहेको बताइन्। ‘हामीले हिमपहिरोको गडगडाहट सुनेनौँ। यो निमेषभरमै भयो,’ उनले भनिन्। उनले आफूलाई छोरी जिवितै भेटिने आश पनि मरिसकेको बताइन्। समिनाले खुट्टा भाँचिएको र मुखबाट रगत बगेको बताइन्।

पाकिस्तानभर हिउँ प्रभावित क्षेत्रमा कम्तीमा १ सय मानिसहरूको ज्यान गएको देशको विपद् व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भारत प्रशासित जम्मु र कश्मिरमा पनि ८ जनाको मृत्यु भएको छ।

कश्मिरले १ सय ३८ वर्ग किलोमिटर क्षेत्र ओगट्छ र यो सुन्दर ताल, हिउँले ढाकेको पहाड र घाँसेमैदानका कारण चर्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *