घट्दो छ बाँकेमा लागुऔषधका घटना

डिसी नेपाल
७ माघ २०७६ १६:५२

नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।

खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ ।

विशेषतः सीमा नाकामा दुबै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको उनले बताए । जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोबार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले बताए। चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले १ सय ६३ जना लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ । बाँके जिल्ला कारागारमा मात्र अहिले करीब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ ।

लागुऔषधको कुलतमा फसेकाहरुको उपचारका लागि बाँकेमा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् । लागुऔषधको क्षेत्रमा काम गर्ने संघ संस्थाका अनुसार जिल्लामा झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *