धादिङ दुर्घटना : मापसे गरी गाडी हाक्दा सात जनाको ज्यान गयो

डिसी नेपाल
७ माघ २०७६ २१:२६

धादिङ । मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक मंगलबार नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फर्कंदै गरेको ग१ख ८०१२ नंको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनापछि तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने चारजनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानाकारी दिए।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ र ध्वजबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । अत्यधिक गतिमा गाडी कुदिरहेको थियो । सबै मानिस हल्ला गरेर कराइरहेको बेला पिच सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानकारी दिए । मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ ।

घाइतेहरुलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र सोसल भोलेन्टरहरुले उद्धार गरेका थिए । घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर १० जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ ट्रमा अस्पताल काठमाडौँमा पठाइएको छ भने एम्बुलेन्सबाट ६ जना लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

धादिङ अस्पतालमा बिरामी घाइतेहरुको उपचार भइरहँदा आफन्त र बजारवासीको भीड लागेको थियो भने लापर्वाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई कारवाहीको माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *