कोरोना भाइरस नेपाल आइपुगेको छैन, विमानस्थलमा कडाई

डिसी नेपाल
९ माघ २०७६ १७:५७

काठमाडौं। सरकारले रहस्यमयी ‘कोरोना भाइरस’ नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ।

चीनबाट फैलिएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा देखिएको छ। तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको छ। छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

उनले ‘कारोना भाइरस’ भएको शंका लाग्ने वित्तीकै विशेष एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याउने व्यवस्था समेत गर्न लागिएको बताए। उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिने समेत बताए।

उनले भने, ‘नेपालको स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी थप निगरानी गर्नका लागि अहिले भर्खरै सचिवको अध्यक्षतामा बैठक बस्यो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्प डेस्कलाई अझ व्यवस्थित गर्ने, त्यहाँ स्क्यानरहरु राख्ने र जो पनि ज्वरो आएका बिरामी छन, असर परेको ठाउँबाट ज्वरो आएकोलाई डेडिकेटेड एम्बुलेन्सबाट पिकअप गर्ने र सम्बन्धीत अस्पतालहरुमा लैजाने, टेकु हस्पिटल, पुलिस हस्पिटल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतमा उपचार गर्न सकिन्छ।’

उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए। उनले ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने बताए।

यसबाट सुसरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकोले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *