सभामुख निर्वाचित हुनुभन्दा केही घण्टाअघि अग्नी सापकोटाविरुद्धको रिटको सर्वोच्चमा पेशी
काठमाडौं। सभामुख बन्ने लगभग निश्चित भएका नेकपा नेता अग्नी सापकोटालाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभन्दा केही घण्टा अगाडि मात्रै सर्वोच्चमा उनलाई सभामुख नबनाउन माग गर्दै परेको रिट पेशीमा परेको छ । सापकोटालाई सभामुख बनाउने प्रकृया रोक्न आदेश माग्दै परेको रिट आजै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।
शुक्रबार दायर भएको उक्त रिटमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आदेश दिन माग गरिएको छ । उनीमाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिएका हुन् । रिट आज न्यायाधीश फुयाँलको इजलासको पहिलो पेशीमा छ ।
आज पेशी सूचीमा परेको यो मुद्दा सम्भवतः न्यायाधीश हरि फुयाँलले हेर्न नकिल्ने हुन सक्छ । पहिले अधिवक्ता रहेका न्यायाधीश फुयाँलले त्यतिबेला एक मुद्दामा अग्नी सापकोटाको पक्षबाट बहस गरेका थिए । त्यो मुद्दा अझैसम्म विचाराधीन छ । यही कारण आजको पेशीमा यो रिट उनले हेर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ । यदि सर्वोच्चले उनले यो रिट हेर्न नमिल्ने ठहर गरेमा अर्को न्यायाधीशको इजलासमा सार्ने वा पछिलाई सार्ने निर्णय गर्न सक्छ । अर्को न्यायाधीशको इजलासमा सार्ने वा पछि सार्ने भन्ने निर्णय प्रधानन्यायाधीशले गर्नेछन् ।
पहिले न्यायाधीश फुयाँलले सापकोटाको पक्षमा बहस गरेको रिट र अहिलेको रिट फरक फरक व्यक्तिले हालेको भए पनि दुवै रिटमा सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ । एउटै माग भएकोले पहिले मागका विपक्षमा बहस गरिसकेका फुयाँलले त्यही माग भएको अर्को रिटमा न्यायसम्पादन गर्न नकिल्ने कतिपय कानुन व्यवसायीको तर्क छ । आज ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment