साढे २ किलो चरेस र चितुवाको छालासहित ५ जना पक्राउ

डिसी नेपाल
१४ माघ २०७६ ९:५१

तुलसीपुर । दाङमा साढे दुई किलो चरेस र चितुवाको छालासहित ५ जना पक्राउ परेका छन् ।

प्राप्त सूचनाका आधारमा साढे दुई किलो चरेससहित ३ जनालाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन्।

त्यसैगरुी चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *