कोरोना भाइरस नियन्त्रणका लागि भएका प्रयास बारे सरकारद्वारा सदनलाई जानकारी
काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि भइरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्रीले समय लिएर बोल्दै कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारवाहीको जानकारी गराएका हुन्।
प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको , प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको उनले सदनलाई जानकारी गराए।
संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाइएको र सम्बन्धित विज्ञसँग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भइरहेको उनले उल्लेख गरे।
उनले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरी ल्याउने क्रममा सरकार जुटेको जनाए। उनले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सर्तकता अपनाउने तयारी भइरहेको बताए।
युवान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि सञ्चालनमा नरहेकाले स्थानीय सरकारसँगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई न्यूनतम १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरी आवश्यक तयारी गरिएको उनले बताए।
कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्र्तगत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी गरिसकेको उनले जनाए।
उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाइएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भइरहेको, तत्कालका लागि काठमाडौं उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउमा राखेर आवश्यक तयारी गरिएको मन्त्री ढकालले सदनलाई जानकारी गराए।
उनले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउँ नपाएको भन्ने भनाइमा सत्यता नभएको र ढिलाइ गरेको भन्ने भनाइमा सत्यता नभएको दाबी गरे। उनले भने, ‘ल्याएका विद्यार्थीलाई कुन स्थानमा राख्ने भन्ने कुराको नजिक निष्कर्षमा पुगेका छौं। बस्तीभन्दा टाढा रहेको ठाउँहरु छान्नु उपयुक्त हुन्छ भन्ने बुझाइमा सरकार रहेको छ। ठाउँ नै नपाएर बानेश्वरको हलमा राख्ने कुराले रोग न्यूनीकरण हुन्छ भन्ने हामीलाई लाग्छ र त्यही गर्दा हुने हो भने यस्ता ठाउँहरु त पर्याप्त नै पाउछौं। तर त्यो पूर्ण रुपमा रोगलाई संक्रमित हुन नदिने भन्दा पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै हो भन्न मेरो बुझाइ रहेको छ।’
प्रतिनिधिसभाको मंगलबारकै बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका थिए।
उनले चीनमा कोरोना भाईरसको उत्पत्ति र बढी संक्रमण पनि फैलिएकाले उनीहरुले यसमा उच्चा सर्तकता र कडा व्यवस्थापन गर्नु जरुरी भएपनि नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नुपर्छ भन्ने भनाइ तर्कसंगत नभएको बताए।
उनले भने, ‘चीन सरकार जसरी नाच्छ त्यही तालमा हामीले खुट्टा उचालिहाल्नुपर्छ भन्ने कुरा नेपाल सरकार विश्वास गर्दैन। हामीले हाम्रो आवश्यकताको आधारमा गर्ने हो।’
उनले चीनबाट ल्याएका नेपालीलाई राख्ने स्थान हेरिसकेको र ती स्थानमा राख्ने सवालमा बिलम्ब नहुने जनाए। नेपाल ल्याउनु भन्दा अगाडि चिनियाँ सरकारले परीक्षण गर्ने, पोजेटिभ देखिएमा उतै राख्ने र संक्रमण हो भनेर प्रमाणित नभएको तर जोखिम युक्त क्षेत्रबाट आएकालाई संक्रमण हुन सक्ने भएकाले निगरानीमा राख्ने प्रबन्ध मात्रै मिलाउने काम भएको उनले स्पष्ट पारे।
उनले विमानस्थलमा नै हेल्प डेक्स राखिएको र मेसिनबाट जाँच्ने काम भइरहेको उल्लेख गरे। नेपाल फर्कन चाहनेले फर्म भर्नु भनेर गरेको आह्वानमा १ सय ८० जनाले मात्रै फर्म भरेको जानकारी गराए।
माघ १६ गते अन्तर्राष्ट्रिय स्तरमा इमरजेन्सीको घोषणा गरेको भएपनि व्यापार र यातायातमा कुनै प्रतिवन्ध नलगाईएको उनले स्पष्ट पारे। यसको संक्रमणबाट बिरामी सिकिस्त पनि नहुने र अस्पताल जाने स्थिति कम भएको तथा एउटा बिरामीबाट अर्को स्वस्थ्य व्यक्तिमा सर्नका लागि २ देखि १४ दिन लाग्ने भएकाले यसमा सावधानी अपनाउनुपर्ने उनले उल्लेख गरे।
चीनको युवानबाट पढेर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको भएपनि अहिले नियन्त्रणमा आइसकेको र शंंकास्पद १३ जनाको परीक्षणमा पोजिटिभ नदेखिएको उनले जनाए। कोरोना भाइरसका संक्रमणबाट जोगिन गरिएको काम र चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मन्त्रीले राखेको भनाईमा १४ जना सांसदले प्रतिप्रश्न गरेका थिए।
विश्व स्वास्थय संगठनको सोमबार सांझसम्मको तथ्यांक अनुसार विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिएको छ। यसबाट १७ हजार ३ सय ५१ जनाहरु संक्रमित रहेको र सबै भन्दा बढी चीनमा १७ हजार २ सय ३८ जना संक्रमित रहेका छन्। संगठनको आधिकारिक तथ्यांक अनुसार, हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ सय ६२ जनाको मृत्यु भएको छ।







डिसी नेपाल







Facebook Comment