तराईका जिल्लाहरूमा भएका धार्मिक दङ्गाको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं।राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले सुनसरी र मधेसका विभिन्न जिल्लाहरूमा पछिल्लो समय भएका धार्मिक दङ्गाका घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले उक्त माग राखेका हुन्।
सर्वपक्षीय सहमतिपछि दङ्गा साम्य भए पनि त्यसको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको कार्यदलप्रति सांसद घिमिरेले आशंका व्यक्त गरे।
छानबिन प्रक्रियाको निष्पक्षतामा प्रश्न उठाउँदै उनले भने, “सुनसरी, सिराहा लगायत तराईका जिल्लाहरूमा भएको धार्मिक दङ्गा राष्ट्रिय सहमतिको आधारमा शान्त त भयो, तर त्यसको छानबिनका लागि गृह मन्त्रालयबाट कार्यदल गठन गरिएको छ। त्यो दूधको साक्षी बिरालो जस्तै भएन र?”
संसदीय बैठकमा सांसद घिमिरेले राष्ट्रिय सभा अध्यक्षमार्फत नेपाल सरकार, गृह मन्त्रालय र गृहमन्त्रीलाई विशेष रुलिङ गर्नसमेत माग गरे। “निष्पक्ष छानबिन आयोग गठन होस्, ताकि भोलिका दिनहरूमा मुलुकमा त्यस्ता दङ्गा, झडप र दुःखद घटना दोहोरिन नपाऊन्,” उनले थपे।
सुनसरीको कप्तानगञ्जबाट सुरु भएको धार्मिक हिंसामा परेर हालसम्म चार जनाको मृत्यु भइसकेको छ। जसमध्ये सुनसरीमा तीन जना र सिराहामा एक जनाको ज्यान गएको हो।
सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको थियो भने प्रदर्शन चर्किँदै जाँदा सिराहामा गोली लागेर गणेश यादवको ज्यान गएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment