निर्मला पन्त हत्या प्रकरण: राष्ट्रिय सभामा गृहमन्त्रीद्वारा पुरक प्रश्नको उत्तर दिन अस्वीकार
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि भएको हत्या प्रकरणबारे राष्ट्रिय सभामा सोधिएको पुरक प्रश्नको उत्तर दिन गृहमन्त्रीले अस्वीकार गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा आयोजित प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र दोषी कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका थिए।
प्रश्नोत्तरको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई प्रश्न सोध्ने अनुमति दिएका थिए। सोधिएको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले यो विषय अत्यन्तै संवेदनशील रहेको बताएका थिए।
जवाफका क्रममा गृहमन्त्रीले उल्टै सांसदलाई प्रश्न गर्दै भने, “यो विषय एकदमै सेन्सेटिभ छ। हजुर सत्तामा हुँदा किन नगर्नुभएको हो? आमाको घाउलाई संसद्मार्फत कोट्याइरहने हो कि न्याय दिने हो?”
निर्मला पन्तको हत्या २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको थियो। घटनाको वर्षौँ बितिसक्दा र अनेकौँ अनुसन्धान समिति गठन गरिए पनि हालसम्म दोषी पत्ता लाग्न सकेको छैन।
अनुसन्धान जारी रहेको दाबी गर्दै गृहमन्त्रीले थपे, “धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु पनि हुँदैन। सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ। यो प्रश्न सदनमा नउठाइदिनुहुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रूपमा सोध्नुहोला, यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।”
गृहमन्त्रीको जवाफपछि अध्यक्ष दाहालले सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिएका थिए। सांसद विश्वकर्माले संसद्मा प्रश्न सोध्नु आफ्नो विधायिकी अधिकार भएको उल्लेख गर्दै पुनः सोधे, “निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?”
सांसदको पुरक प्रश्नपछि अध्यक्ष दाहालले पुनः गृहमन्त्रीलाई उत्तर दिन समय दिएका थिए। तर, दोस्रो पटक रोस्ट्रममा उभिएका गृहमन्त्रीले छोटो प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहँदिनँ।”
संसदीय अभ्यासमा मन्त्रीले सांसदको प्रश्नको उत्तर दिन अस्वीकार गरेपछि बैठकमा केही बेर अन्योलको स्थिति सिर्जना भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment