भातृ संगठनलाई कांग्रेसले सडकमा उतार्नु दुर्भाग्यपूर्ण

डिसी नेपाल
२४ माघ २०७६ ९:३२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा बुधबार १७५ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेपछि विभिन्न प्रतिक्रिया जनाउने क्रम जारी छ।

अख्तियारले आफ्ना उपसभापति एवं ससदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध मुद्धा दायर गरेपछि नेपाली कांग्रेस बढी नै सशंकित भएको देखिन्छ। कांग्रेसले बिहीबार मात्रै अख्तियारको कदम विरुद्ध आफ्ना भातृ संगठनलाई सडकमा उतार्ने निर्णय गरेको सुन्नमा आएको छ। यो दुर्भाग्यपूर्ण विषय हो।

एउटा संवैधानिक निकायले छानवीन गरेर अभियोग पत्र दर्ता गरेर न्यायिक प्रक्रियामा गइसकेपछि त्यसलाई अवरोध गर्नु भनेको विधिको शासनको उपहास गर्नु हो। कानुनी प्रक्रियामा गइसकेको हुनाले त्यसको प्रतिरक्षा गर्न पार्टीले पनि सडकबाट न्याय खोज्न थाल्ने हो भने त्यो कांग्रेसको स्थापित मूल्य मान्यता विपरित हुन्छ।

आफ्ना नेता निर्दोष छन् भन्न कांग्रेसले न्यायिक बाटो खोज्न सक्छ। तर, त्यसो नगरेर सडक तताउने काम कांग्रेस आफैंले स्थापित गरेको मूल्य मान्यता विपतिर हो भन्ने मेरो बुझाइ छ। अब कांग्रेसलाई ललिता निवास प्रकरणमा अख्तियारले अन्यलाई उन्मुक्ति दिएर आफ्ना नेतालाई मात्रै फसाएको जस्तो लाग्छ भने उसले सर्वोच्च अदालतमा गएर न्याय खोज्न सक्छ।

लोकतान्त्रिक मुलुकमा कुन विधि अबलम्बन गर्नुपर्छ भन्ने कांग्रेसले अरु दललाई दिनुपर्नेमा लोकतान्त्रिक मूल्य मान्यता मान्दिन भन्नु कांग्रेसलाई सुहाउने विषय होइन।

कांग्रेस भनेको लोकतन्त्रको आधारस्तम्भ हो। कानुनी बाटो अबलम्बन गर्न कांग्रेसले अरु दललाई मार्गदर्शन गर्ने हो। अहिले हामी कुनै तानाशाही व्यवस्थामा छैनौं, हामी सबै मिलेर ल्याएको लोकतान्त्रिक प्रणालीमा संविधान अनुसार काम गर्ने हो भने कानुनी बाटो अबलम्बन गर्नुपर्छ। सबैलाई मार्गदर्शन गर्ने दलले कानुनी उपचार खोज्नुपर्छ। न्याय सडकबाट खोज्ने होइन।

अहिले त मुद्धामात्रै दायर भएको छ। दोषी र निर्दोष सावित गर्ने त अदालतले हो। उहाँले (गच्छदार) गलत काम गरेको वा नगरेको निर्णय अदालतले गरिहाल्छ नि!
अमेरिका जस्तो लोकतान्त्रिक मुलुकमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग दर्ता भएको थियो। पछि सिनेटमा महाभियोग प्रस्ताव फेल भयो।

तर, त्यहाँको रिपब्लिकन पार्टीले आफ्ना नेतालाई महाभियोग प्रस्ताव दर्ता गरेको भनेर वासिंटनमा, न्यूयोर्कमा टायर बालेनन्, चक्का जाम पनि गरेनन्। लोकतन्त्रबाट सिक्ने कसले हो? लोकतन्त्रबाट अरु दलले सिक्नुपर्नेमा अहिले कांग्रेसले सिक्नुपर्ने भयो।

यो क्रियाकलाप कांग्रेसको अदालत र लोकतन्त्र विरोध भयो। लोकतान्त्रिक मुलुकमा कुन विधि अबलम्बन गर्नुपर्छ भन्ने कांग्रेसले अरु दललाई दिनुपर्नेमा लोकतान्त्रिक मूल्य मान्यता मान्दिन भन्नु कांग्रेसलाई सुहाउने विषय होइन।

पूर्व अर्थसचिव खनालसँग मदन काेइरालाले गरेकाे कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *