के गर्दैछ पेट्रोलियम अन्वेषण गर्न दैलेख पुगेको चिनियाँ टोली?
दैलेख। दैलेखको नाबिस्थान, श्रीस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाइ चिनियाँ टोलीले गरिरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत साइस्मिक सर्भे सातवटा लाइनको काम सम्पन्न गरेको छ।
पेट्रोलिम पदार्थ अन्वेषण अन्तर्गत महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ। गत कार्तिकदेखि शुरु गरिएको अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिणमा गरी १० वटा साइस्मिक सर्भे लाइन रहेका छन्।
यी मध्ये सातवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भेको काम सम्पन्न गरेको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए। डा. त्रिपाठीका अनुसार बाँकी रहेका तीनवटा लाइनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको छ।
अन्वेषण अन्तर्गत पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओ केमिकल सर्भे, स्याम्पलिङ सर्भेभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको डा. त्रिपाठीको भनाइ छ।
उनका अनुसार दैलेखको पूर्वि भूभागमा साइस्मिक सर्भेको काम सम्मपन्न भएपछि चिनियाँ प्राविधिक टोलीले अहिले दुल्लु नगरपालिका–८ दुल्लु संग्रालय नजिकै क्याम्प राखेर पश्चिम क्षेत्रमा अन्वेषणको काम गर्दै आएको छ।
१० वटै साइस्मिक लाइनमा सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चीन फर्कने छ। यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्केपछि चार किलोमिटर गहिराइसम्म मुख्य डिलिङको काम गर्ने डा. त्रिपाठीले बताए।
अहिले चिनियाँ प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग, दुल्लु नगपालिकाका केही क्षेत्रलगायत डुंगेश्वर गाउँपालिका केही भूभाग र नारायण नगरपालिकाका क्षेत्रलाई आधार मानी पेटोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो।
उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो। सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लखे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment