मन्त्रिपरिषद् बैठकमा चीनबाट नेपालीलाई उद्धार गर्ने विषयमा प्रधानमन्त्री आक्रोशित

डिसी नेपाल
२७ माघ २०७६ २२:२४

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसका कारण चीनमा फसेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको एक हप्ताभन्दा धेरै भइसक्दा पनि सम्बद्ध निकायले संवेदनशीलता नबुझेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुसँग आक्रोशित बनेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीको उद्धारमा किन संवेदनशील नबनेको भनेर आक्रोश पोखेको एकमन्त्रीले बताए। गएको फेब्रुअरी १ मा सरकारले कोरोना भाइसबाट सबैभन्दा धेरै प्रभावित भएको चीनको हुवेई प्रान्तमा रहेका सबै नेपालीलाई उद्धार गर्ने निर्णय गरेको थियो। सरकारको निर्देशनपछि बेइजिङस्थित नेपाली दूतावासले फेब्रुअरी २ मा नेपाल फर्किन चाहने नेपालीको निवेदन संकलनसमेत गरेको थियो।

तर, आवश्यक तयारी नपुगेको भन्दै अझसम्म पनि उद्धार गरिने मिति तय हुन नसकेपछि प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरु र अन्य उच्च निकायसँग असन्तुष्ट बनेका हुन्।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान ७ बजे सम्पूर्ण तयारीको जानकारीसहित बालुवाटारमा आउन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई निर्देशन दिएका छन्।

बैठकमा मन्त्रीहरुले चीनबाट उद्धार गरिएकाहरुलाई निगरानीमा राखिने स्थानको टुंगो नहुँदा ढिलाई भएको बताएका थिए। निगरानी राख्नका लागि छनोट भएका स्थानमा स्थानीयहरुले विरोध गर्दा झन समस्या भएको मन्त्रीहरुको भनाई थियो।

स्रोतका अनुसार मंगलबार बिहानमन्त्री परिषद्को बैठक बस्ने र त्यसले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकबारे निर्णय गर्ने तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *