तीन महिनामा बन्यो ८० किलो १० फिट अग्लो खुकुरी

डिसी नेपाल
७ फागुन २०७६ ९:४५

बेनी। पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका हुन्। तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो।

असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ। गत मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उहाँले जानकारी दिए।
सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको छ।

उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन्। खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिइ।

महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ। खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ। “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भने।

उनका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ। सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए।

पुख्र्यौलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन्। उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *