हलमा कस्तो छ ‘सेन्टी भाइरस’ ? ‘धुर्मुस’ भन्छन् : दर्शकको माया पाईरहेका छौं
काठमाडौं। चलचित्र ‘सेन्टी भाइरस’ शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। चलचित्रलाई कलाकारिता हुँदै समाजसेवामा सक्रिय जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको हो।
चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ चलचित्र निर्माण गरिएको हो। चलचित्रको आम्दानीको ५० प्रतिशत क्रिकेट रंगशाला निर्माणमा खर्चिदैछ।
चलचित्र हेर्न गत शुक्रबार र शनिबार हलमा दर्शकको बाक्लो भीड लागेको थियो। लामो समयपछि हलमा दर्शकको भीड देखिएको थियो। चलचित्रले सुरुवाती दुई दिनमा २ करोड ४७ लाख बढीको ग्रस कलेक्सन गरेको निर्माण टीमको दाबी छ। त्यसयता भने चलचित्रको ब्यापार सार्वजनिक गरिएको छैन्। शुक्रबार साँझ सम्ममा एक साताको ब्यापार सार्वजनिक गरिने सिताराम कट्टेल बताउँछन्।
चलचित्र हेर्न अहिले पनि हलमा दर्शकको उत्साहजनक सहभागीता छ। रंगशाला निर्माणको सहयोगार्थ चलचित्र हेर्न दर्शक हल पुगिरहेका छन्। चलचित्र प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दै गर्दा ‘धुर्मुस्’ डिसी नेपालसंगको कुराकानीमा ‘सेन्टी भाइरस’हेरेर रंगशाला निर्माणमा हातेमालो गर्ने सम्पूर्णमा आभार तथा धन्यबाद ब्यक्त गर्छन्। उनी प्रदर्शनको दोस्रो सातामा पनि हलमा दर्शकको भीड रहेको ‘धुर्मुस्’ बताउँछन्। स्कूलदेखि सहकारी, खेलाडीसम्मले हल नै बुक गरेर समेत चलचित्र हेरेका छन्।
‘हामी रंगशाला निर्माणमा खटिरहेका छौं। त्यसलाई अलिकति प्लस होस् भनेर चलचित्र निर्माण गरेका हौं। चलचित्रमार्फत हाम्रो अभियानमा धेरै जना जोडिनुभयो। कोही जोडिँदै हुनुहुन्छ। अत्यन्तै खुःसी छौं। सम्पूर्णमा धन्यवाद दिन चाहान्छौं’– उनले भने।
कतिपयले भने चलचित्रलाई आलोचना गरेका छन्। ‘धुर्मुस सुन्तली’ले ‘कमजोर’ चलचित्र बनाएको उनीहरुको भनाई छ। यद्यपी धुर्मुस आफूहरु रंगशाला निर्माणमा खटिइरहँदा ‘सेन्टी भाइरस’ निर्माण गरेको हुनाले चलचित्रमा धेरै समय दिन नसकेको स्वीकार्छन्। हतारमा चलचित्र निर्माण गरिएकोले कमीकमजोरी भएको हुनसक्ने उनको स्वीकारोक्ती छ।
‘हतार–हतारमा चलचित्र निर्माण गर्यौ। प्रमोशनमा प्रयाप्त समय दिन सकेनौं। त्यसैले केही कमीकमजोरी भए’ उनले भने ‘चलचित्रमार्फ हरेकलाई रंगशाला निर्माणको अभियानमा जोडन हाम्रो प्रयास हो। त्यसैले चलचित्रकै आँखाले मात्र नहेरेर यसमा क्रिकेट रंगशालाको अभियान पनि जोडिएको छ भनेर हेरिदिन आग्रह गर्छु।’
रामबाबु गुरुङ निर्देशित चलचित्रमा ‘धुर्मुस–सुन्तली’का साथमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल लगायतको अभिनय छ।
Facebook Comment