‘२ नम्बरी’ मा दयाहाङको जोडी भुटानी अभिनेत्री
काठमाडौं। चलचित्र ‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छन्।
यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने यो चलचित्रमा भुटानी चलचित्र निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेनले अभिनय गर्ने भएकी हुन्। उनको जोडीको रुपमा अभिनेता दयाहाङ राईले अभिनय गर्नेछन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले उगेन चलचित्रमा भित्रिएको जानकारी दिएको हो। उगेनको यो पहिलो नेपाली चलचित्र हुनेछ। चलचित्रमा उनी भुटानी नागरिककै भूमिकामा रहनेछिन्।
उगेनले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन्। भुटानमा विदेशी चलचित्र प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने गरेको उनको भनाई थियो। अभिनेता दयाहाङले उगेनको जोडी भएर काम गर्न आफू उत्साहित रहेको बताए।
चलचित्रमा दयाहाङ, उगेनका साथमा पल शाह, वर्षा राउत र बुद्धि तामाङको शिर्ष भूमिका रहनेछ। दुई मिल्ने साथीको कथामा बन्ने चलचित्रमा निर्देशक दीपेन्द्रकै कथा रहनेछ।
रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन्।
केही दिनपछि छायांकनमा जाने चलचित्रको अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन मिति तोकिएको छ।







डिसी नेपाल








Facebook Comment