विश्वसुन्दरी टोनी हेलम्बुमा
सिन्धुपाल्चोक। सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज शुक्रबार सिन्धुपाल्चोकको हेलम्बुमा पुगेकी छन् । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र शृङ्खला खतिवडासँग शुक्रबार बिहान आएकी उनले हेलम्बुमा निर्माण भइरहेको घोप्टे ध्याङस्थित हिमालय पदमार्ग ‘ग्रेट ट्रेल’को अवलोकन गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमग्याल्जेन शेर्पाले बताए।
त्यसैगरी उनले वडा नं ७ सोलसिङ्ग गाउँको पनि अवलोकन गरिन्। त्यहाँ नेपाल सुन्दरी अनुष्का श्रेष्ठद्वारा स्वावलम्बन कार्यक्रमअन्तर्गत १४० घरपरिवारका लागि शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वसुन्दरी टोनी बिहीबार नेपाल आएकी हुन्।
पर्यटकीय दृष्टिकोणले चर्चित हेलम्बुमा चीनको ग्रेटवालको झल्को दिने हिमालयन हेलम्बु ग्रेट ट्रेलको गत वर्षदेखि निर्माण शुरु भई हालसम्म ११० मिटर सम्पन्न भएको छ । कूल रु तीन अर्ब बजेटमा ६० किलोमिटर निर्माण गरिने बहुवर्षीय योजनाअन्तर्गत चालू आवमा एक किलोमिटर निर्माण गर्ने लक्ष्य रहेको पालिकाले जनाएको छ ।
कडा चट्टान ढुङ्गा काटेर सिमेन्टको जोडाइमा दुई मिटर सिमेन्टको सिँढी बनाइएको छ । पदमार्गको दुवैपट्टि ६० सेन्टिमिटरको चौडाइको पर्खाल निर्माण गरिएको छ ।
एक मिटर सिँढीको काम पूरा गर्न रु ३० हजार लागत लाग्नुका साथै समय पनि बढी लाग्ने गरेको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment