राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाएलगत्तै २ अमेरिकी सांसद क्वारेन्टाइनमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाएलगत्तै २ जना अमेरिकी सांसदहरुले आफूहरु सेल्फ क्वारेन्टाइनमा बस्ने घोषणा गरेका छन् । ट्रम्पसँग हात मिलाएको केही समयमै उनीहरुले केही समयअघि आफूहरुसँग सम्पर्कमा भएका व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी पाएका थिए । यो जानकारी पाएपछि आफूहरुमा पनि कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्ने भएका हुन् । तर, उनीहरुले जानकारी पाउँदासम्म राष्ट्रपति ट्रम्पसँग भने हात मिलाइसकेका थिए ।
जर्जियाका रिपब्लिकन सांसद डग कोलिन्सले गत शुक्रबार राष्ट्रपति ट्रम्प एटलान्टा गएका बेला हात मिलाएका थिए । अर्का रिपब्लिकन सांसद फ्लोरिडाका म्याट गेट्ज पनि राष्ट्रपति ट्रम्पसँग एउटै जहाजमा ओरलान्डोबाट मेरिल्याण्ड गएका थिए । उनले पनि विमान अवतरण गरेको केही समयमै आफू मेरिल्याण्डमा फेब्रुअरी अन्तिममा भएको कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा सहभागी हुँदा आफू सम्पर्कमा रहेका व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थाहा पाएका थिए ।
गेट्जले आफू ट्रम्पसँगै गएको विमान अवतरणको एक घण्टापछि आफू सेल्फ क्वारेन्टाइनमा बस्ने सार्वजनिक घोषणा गरेका थिए । ह्वाइट हाउसले सोमबार अबेर दिएको जानकारीअनुसार ट्रम्पले आफूमा कोरोनाभाइरस संक्रमणको परीक्षण नगरेको सिएनबीसी न्यूजले लेखेको छ । ‘राष्ट्रपतिले कोरोनाभाइरस संक्रमणको परीक्षण गराउनुभएको छैन किनकि उहाँ कुनै पनि संक्रमण पुष्टि भएका व्यक्तिसँग नजिकको सम्पर्कमा रहनुभएको थिएन र उहाँमा यसको लक्षण पनि देखिएको छैन’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफनी ग्रिशामले भनिन् ‘राष्ट्रपति ट्रम्प पूर्ण स्वस्थ हुनुहुन्छ र उहाँका फिजिसियनले उहाँको गहन निगरानी गरिरहनुहुनेछ ।’







डिसी नेपाल








Facebook Comment