वडा भवन निर्माणमा जुट्यो काठमाडाैं महानगरपालिका

डिसी नेपाल
३० फागुन २०७६ १२:४७

काठमाडाैं। काठमाडौँ महानगरपालिकाले हाल निर्माण गर्नुपर्ने सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण भइरहेका छन्। यसरी वडा भवन निर्माणमा महानगरपालिका जुटिरहे पनि केन्द्रीय भवन कहाँ र कहिले निर्माण गर्ने भन्नेबारे अझै निर्णय हुन सकेको छैन।

महानगरपालिकामा ३२ वडा छन्। त्यसमा धेरैको वडा कार्यलय भवन निर्माणाधीन अवस्थामा छ। निर्माणको अवस्थामा रहेका सबैको नमूना एकै प्रकारको रहने महानगरले जनाएको छ। केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएका र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो।

नयाँ निर्माण गरिएका र गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोहीअनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने महानगरपालिकाले जनाएको हो। धेरै वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ। भवन नहुँदा काम गर्न कठिन हुनुका साथै सेवाग्राहीलाई सहजरूपमा सुविधा दिन नसकिरहेकाले सबै वडा भवन एकरुपताका साथ निर्माण गर्न लागिएको नगर प्रमुख विद्यासुन्दर शाक्य बताउँछन्।

केन्द्रीय भवन निर्माणको विषयबारे छलफल भइरहेको प्रमुख शाक्यले जानकारी दिए। वडा नं ३, ४, ९, १४ र २६ का भवन आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गरिसकिने छ भने वडा नं २, २९ र २२ मा बोलपत्र आह्वानको प्रक्रियामा छन्। यी सबै भवन निर्माणको डिजाइन इञ्जिनीयर प्रेम श्रष्ठले गरेका हुन्।

सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो। एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान गरिएको छ। चालू आवभित्रै सम्पन्न गर्ने गरी महानगरपालिकाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा आफ्ना भवन भएका र भूकम्पका कारण सामान्य क्षति भएका केही वडाका तला थप गर्ने काम पनि अघि बढाइएको छ। आफ्नै भवन नहुँदा काम गर्न समस्या भएपछि वडाले पहिचान गरेको खाली जग्गामा भवन निर्माण गर्न लागिएको छ।

केन्द्रको काम सात स्थानबाट

महानगरपालिका वडा कार्यलय भवन निर्माणमा जुटिरहँदा केन्द्रीय कार्यालय कहिले निर्माण गर्ने भन्ने विषय अझै निर्णयमा पुगेको छैन। महानगरको केन्द्रीय कार्यालय भवन पनि विभिन्न सात स्थानमा छरिएर रहेको छ। यसरी कार्यालय भवन एकै स्थानमा नहुँदा सेवाग्राहीलाई समस्या परेको छ। हाल महानगरपालिकामा १३ विभाग छन्।

भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको महानगरले भूकम्प गएलगत्तै राष्ट्रियसभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रियसभागृहमा छन्। त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन्।

त्यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् भने महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहेका छन्। यसरी विभाग सरेकोबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नुका साथै समयको बर्बादी पनि भइरहेको छ। महानगर उपप्रमुख खड्गी यी सबै समस्या भूकम्पका कारण भएको बताउँछन्।

महानगरको केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि हरिभवन भत्काउने चर्चा चलेपछि सर्वोच्च अदालतले नभत्काउन आदेश दिँदा उक्त काम पनि पछि परेको छ। महानगरपालिका कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल मासिक लाखौँ रकम खर्चिनुपरेको छ।

“नागरिकलाई सास्ती दिने उद्देश्य नभई कार्यालयका लागि भाडाका भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ त्यहीँ लिइएको हो, महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने। टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आए पनि धेरै विभाग भने भूकम्पपछि मात्र सुन्धाराबाट अन्यत्र सरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *