कोरोनाभाइरस अमेरिकाबाट फैलिएको दावी गर्दै चीनले भन्यो–‘वुहानमा अमेरिकी सेनाले फैलायो’

डिसी नेपाल
३० फागुन २०७६ १३:०५
4
Shares

काठमाडौं। चीनले आफ्नो देशमा भन्दा पहिले अमेरिकामा कोरोनाभाइरस देखिएको आशंका गर्दै आफ्नो देशमा अमेरिकी सेनाले भाइरस फैलाइदिएको आरोप लगाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले ट्वीट गर्दै यस्तो आरोप लगाएका हुन् । यसअघि अमेरिकी सुरक्षा सल्लाहकारले समेत चीनमाथि भाइरस पत्ता लागेपछि पनि यो जानकारी विश्वसँग लुकाएको र यही जानकारी लुकाउँदा भाइरस फैलिन सघाउ पुगेको आरोप लगाएका थिए । यससँगै बेइजिङ र वाशिङटनबीच वाकयुद्ध चर्किएको छ ।

केही दिनअघि वुहानकी एक डाक्टरले आफूहरुले भाइरस पत्ता लगाएपछि सरकारी अधिकारीहरुलाई यसको जानकारी दिएको तर अधिकारीहरुले आफूहरुलाई सूचना लुकाउन दबाब दिएको भन्दै एक चिनियाँ म्यागजिनलाई अन्तरवार्ता दिएकी थिइन् । ती डाक्टरको खुलासासँगै अमेरिकाले चीनमाथि पारदर्शी नभएको र जानकारी लुकाएको आरोप लगाएको थियो । यसैको जवाफमा चिनियाँ विदेशमन्त्रालयमा प्रवक्ता झाओले अमेरिकामाथि नै गम्भीर आरोप लगाएका हुन् ।

झाओले ट्वीटरमा लेखेका छन् ‘अमेरिकामा प्यासेन्ट जीरो (पहिलो संक्रमित) कहिले सुरु भयो ? कति मानिसहरु संक्रमित छन् ? अस्पतालहरुका नामहरु के–के हो ? सम्भवतः त्यो अमेरिकी सेना हुनुपर्छ जले महामारी वुहानमा ल्यायो । पारदर्शी बन । तिम्रो तथ्यांक सार्वजनिक गर । अमेरिका हामीबाट स्पष्टीकरण चाहन्छ ।’ यसअघि चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता गेंग सुआंगले पनि अमेरिकी अधिकारीको प्रतिक्रियालाई ‘विवेकहीन र गैरजिम्मेवार’ भन्दै आलोचना गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.