इरानमा खनिएका छन् सयौं चिहान, लाशमा हालिँदैछ चुना

डिसी नेपाल
३० फागुन २०७६ १४:४७

काठमाडौं। इरानमा कोरोनाभाइरसबाट १० हजार बढी संक्रमित भएको र ४ सय २९ जनाको मृत्यु भएको इरान सरकारले जानकारी दिएको छ । यहाँ सबैभन्दा धेरै कोम शहर प्रभावित छ । यो शहरमा चुपचाप सयौं चिहान खनिएको दावी गरिएको छ । पश्चिमी देशका मिडियाले प्रकाशित गरेका स्याटेलाइट तस्वीरमा सामूहिक चिहान खनेको देखिएको छ ।

द गार्डियनले लेखेको समाचारमा इरानको कामे शहरको एक सुनसान क्षेत्रमा सथौं चिहान खनिएको उल्लेख छ । यो समाचार सबैभन्दा पहिले न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । न्यूयोर्क टाइम्सको समाचारमा ३०० फिट लम्बाइमा सयौं चिहान खनिएको उल्लेख छ । कोम शहर राजधानी तेहरानबाट १२० किलोमिटर टाढा छ । पश्चिमी देशका मिडियाका अनुसार यी चिहान २४ फेब्रुअरीदेखि खनिँदैछन् ।

द गार्डियनका अनुसार इरानका उप स्वास्थ्य मन्त्री इराज ह्यारिर्चीले कोरोनाभाइरसबाट मृत्यु हुनेहरुका लागि ठूलो संख्यामा चिहान खनिएको अस्वीकार गरेका छन् । जुन दिन ह्यारिर्चीले मिडियाको अगाडि यो कुरा भनेका थिए त्यतिबेला उनको निधारमा पसिना आइरहेको थियो र उनी खोकिरहेका थिए । त्यसको भोलिपल्ट उनी स्वयं कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो ।

इरानमा खनिएको दावी गरिएका चिहानका तस्वीर वाशिङटन पोस्ट, गार्डियन, डेलिमेल जस्ता ठूला मिडिया हाउसले प्रकाशित गरेका छन् । डिसीनेपाल भने यसको पुष्टि गर्दैन । सामाजिक संजालमा पनि कोममा खनिएको दावी गरिएका चिहानको भिडियो शेयर गरिएको छ । डेलिमेलले आफ्नो समाचारमा यहाँका चिहानमा कोरोनाभाइरबाट मरेकाहरुलाई गाडिएको र शवमा चुना हालिएको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.