गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

डिसी नेपाल
५ चैत २०७६ ६:३३

पोखरा । गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ।

प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक÷एक ‘नमूना कृषि गाउँ’ छनोट गरेको थियो।

व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मर्निभर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमूना कृषि गाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए ।

प्राविधिक शिक्षा तथा तालीम परिषद्अन्तर्गत धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बाग्लुङले मंगलबार पोखरा–१६ अर्मलामा आयोजना गरेको ३९० घण्टाको बेमौसमी तरकारी खेती तालीमको उद्घाटन गर्दै उनले नमूना कृषि गाउँ कार्यक्रमलाई निर्वाचन क्षेत्र, पालिका तथा वडातहसम्म विस्तार गरेर बढी भन्दा बढी कृषि उत्पादन गर्ने सरकारको नीति रहेको बताए ।

उनले भने, “व्यावसायिक उत्पादनका लागि कृषकलाई तालीम, प्रविधि हस्तान्तरण र माटो अनुसारको उत्पादनको सम्भावना पहिल्याउँदै कृषकलाई सुविधा प्रदान गर्ने नीति कार्यक्रम सरकारको छ।”

प्रदेशका ८५ वटै स्थानीय तहमा कृषि उत्पादन ‘ब्लक’ तथा प्रत्येक वडामा ‘पकेट’ क्षेत्र बनाउने गरी सम्भावना, वस्तुगत आवश्यकता तथा जनचासोका आधारमा गाउँ गाउँमा कार्यक्रम लगिने उनले स्पष्ट पारे ।

इन्स्टिच्युटका शिक्षालय प्रमुख बज्रमोहन पौडेलले स्थानीयवासीलाई सीप सिकाउँदै पोख्त बनाउने र अर्गानिक तरकारी उत्पादन गर्दै आयआर्जनमा सघाउने उद्देश्यले तालीम आयोजना गरिएको जानकारी दिए ।

प्रत्येक दिन छ घण्टाका दरले ६५ दिनसम्म तालीम सञ्चालन हुने र तालीमका अवसरमा कृषकहरुलाई विभिन्न प्रकारका बेमौसमी तरकारी खेती, विषादी परीक्षण, भण्डारण तथा विक्री वितरणका बारेमा ज्ञान दिइने प्रशिक्षक दुर्गाबहादुर गुरुङले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *