सम्बन्धविच्छेदको निवेदनले निर्भयाका दोषीलाई भोलि दिइनुपर्ने फाँसी रोकिने !
नयाँ दिल्ली। दिल्लीको बहुचर्चित निर्भया काण्डका दोषीलाई भोलि बिहान फाँसी दिने तयारी भइरहेका बेला अदालतले अन्तिम समयमा फाँसी रोकिने संकेत देखिएको छ । सम्बन्धविच्छेदको निवेदनका कारण अदालतले फाँसी रोक्नुपर्ने स्थिति आएको हो । ४ दोषीमध्येका एक अक्षय ठाकुरकी पत्नीले दिएको सम्बन्धविच्छेदको निवेदनका कारण फाँसी हुन नसक्ने देखिएको हो । अक्षयकी पत्नी पुनिताले दिएको यो निवेदनमाथि अब २४ मार्चमा औरंगाबाद अदालतमा सुनुवाइ हुनेछ ।
पुनिताका वकिल मुकेश कुमार सिंहका अनुसार परिवार न्यायालयका मुख्य न्यायाधीश रामलाल शर्माको इजलासले अक्षयकी पत्नीलाई सशरीर अदालतमा उपस्थित हुन भनेको छ । त्यसपछि मात्र सुनुवाइ हुनेछ । अब २४ मार्चमा अर्को सुनुवाइ हुने भएपछि भोलि दिइने भनिएको फाँसी रोक्नुपर्ने स्थिति आएको छ । पुनिताले १६ मार्चमा सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।
निवेदनमा पुनिताले आफू विधवा भएर बस्न नसक्ने उल्लेख गरेकी छिन् । पुनिताले हिन्दू विवाह अधिनियम १३.२.२ अन्तर्गत निवेदन दिएकी थिइन् । यसमा विधवा भएर बस्न नचाहेमा सम्बन्धविच्छेद गर्न पाइने उल्लेख छ । अब यदि भोलि अक्षयलाई फाँसी दिइएमा पुनिता विधवा हुनेछिन् र उनको विधवा बनेर नबस्न पाउने अधिकारको हनन हुनेछ । यस्तोमा अदालतले उनलाई विधवा हुन नदिन सम्बन्धविच्छेद हुँदासम्म पर्खिनुपर्ने स्थिति आउन सक्छ ।







डिसी नेपाल








Facebook Comment