कोरोना भाइरसविरुद्ध सम्पूर्ण शक्ति लगाऊ : काँग्रेस

डिसी नेपाल
१५ चैत २०७६ ०:३२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसविरुद्ध राज्यले सम्पूर्ण शक्ति लगाउनुपर्ने बताएको छ। काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा ज्ञापन पत्र बुझाउँदै काँग्रेसको धारणा राखेका छन्।

काँग्रेसले समितिमा आफ्नो १६ बुँदे धारणा राख्दै कोरोना भाइरसविरुद्ध राज्यको पूर्ण शक्ति लाग्नुपर्ने बताएको हो।

काँग्रेसले सरकारले कोरोनाविरुद्धको कार्यलाई भोली नभनेर आजै गर्नुपर्ने भन्दै राज्यको सम्पूर्ण शक्ति परिचालन गर्ने तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने बताएको छ।

काँग्रेसले लकडाउनका अवस्थामा नियमित अस्पताल जानुपर्ने अन्य विरामीहरु समस्यामा परेको भन्दै उनीहरुका लागि पनि विशेष व्यवस्था गर्न माग गरेको छ। यस्तै नेपाल बारिह रहेका नेपाली नागरिकहरुको सुरक्षाका लागि कुटनीति पहल गर्न पनि काँग्रेसले माग गरेको छ। काँग्रेसले देश लकडाउनमा रहेको भन्दै यस्तोबेला सबैले आ आफ्नोतर्फबाट सहयोग गर्नुपर्नेसमेत बताएको छ।

काँग्रेसले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवादसमेत दिएको छ।

काँग्रेसको धारणा

विश्वमा फैलेको कोरोना महामारी मानव सभ्यताको लागि शताब्दी कै ठूलो चुनौतीको रुपमा आइरहेको छ । यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ ।

१)  सबै आम नागरिकले कोरोना नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता छ ।

२)  कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ ।

३)  नेपाल सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ ।

४)  नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पि.पि.ई. (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ ।

५) कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पु¥याउनु सबै नागरिकहरुको दात्यिव हो । साथै सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ ।

६) यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ ।

७) सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ । यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ ।

८)  कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पु¥याउन आवश्यक छ ।

९) लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यवसायीक र सामाजिक संघसंस्था तथा राजनैतिकर्मीहरुले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ ।

१०)  छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राको क्रममा भारतमा विचल्लि परेका नेपालीहरुको उद्दार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ ।

११)  संसार भरी छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागि हाम्रा कुटनीतिक निकायहरुले सक्रियता बढाउनु आवश्यक छ ।

१२)  यो महामारीको नियन्त्रण गर्न रातदिन खटी रहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र छन् । उनीहरुको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकता दिनु पर्दछ । यस्तै अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ ।

१३) कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ ।

१४)  कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपाल भरी नै लकडाउन गरिरहेको बेलामा दीर्घ रोगी तथा नियमित रुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामीहरु तथा अन्य रोगका विरामीहरुलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ ।

१५)  दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममा नै ध्यान पु¥याउनु जरुरी छ ।

१६)  नेपाल सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रण सम्बन्धी कार्य भोली हैन आजै गर्न जरुरी छ । सबै नेपाली जनताले सजकता, धैर्यता र सम्यमता अपनाउन जरुरी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *