सार्क राष्ट्रमा कोरोनाः ३८६ को मृत्यु, १३ हजार ४ सय बढी संक्रमित
काठमाडौँ । विश्वका २१० देशमा महामारी हुँदा तुलनात्मक रुपमा केही सामान्य देखिएको सार्क राष्ट्रमा पनि पछिल्लो सयम कोरोनाको प्रभाव बढेको छ ।
सार्क राष्ट्रहरुमा शनिबार बिहानसम्म १३ हजार ४ सय ६३ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ३८६ जनाको ज्यान गएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । हालसम्म भारतमा ७ हजार ६ सय जना कोरोना संक्रमित भेट्टिएका छन् । जसमध्ये २४९ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८७५ जना नयाँ संक्रमित फेला परेका छन् । र, २२ जना संक्रमितको ज्यान गएको छ ।
यस्तै पाकिस्तानमा पनि कोरोनाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ। पाकिस्तानमा हालसम्म ४ हजार ६ सय ९५ संक्रमित भएका छन् । जसमध्ये ६६ जना संक्रमितको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा २०६ जना नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै अफगानीस्तानमा सार्क राष्ट्र मध्ये कोरोना प्रभावित तेस्रो मुलुक हो । हालसम्म अफगानिस्तानमा ५२१ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ३७ जनाको कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अफगानिस्तानमा ३७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
हालसम्म बंगलादेशमा ४ सय २४ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्इये २७ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा ९४ जना संक्रमित फेला परेका छन् भने ६ जना मानिसको ज्यान गएको छ।
यस्तै श्रीलंकामा हालसम्म ७ जना मानिसको ज्यान गएको छ । कोरोनाको महामारीबाट अछुतो हुन नसकेको श्रीलंकामा हालसम्म १ सय ९० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ५४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
सार्क राष्ट्रमध्ये सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा पनि कोरोनाका संक्रमण देखिएको छ । हाजसम्म माल्दिभ्समा १९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये १३ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।
सार्क राष्ट्र मध्येको भुटानमा कोरोनाको प्रभाव सामान्य देखिएको छ । भुटानमा शनिबार बिहानसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये दुई जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको उपचार जारी छ।
यस्तै कोरोना भाइरसको उद्गमस्थल वुहानपछि सबैभन्दा पहिला कोरोना संक्रमित फेला परेको नेपालमा पनि कोरोनाको प्रभाव सामान्य छ।
यो समाचार तयार पार्दासम्म नेपालमा ९ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरसको छ ।
नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६३० जनाको कोरोना टेस्ट गरिएको थियो । जसमध्ये सबैको रिर्पोट नेगेटिभ आएको छ । कोराना रोकथामा लागि २० दिनदेखि नेपालमा लकडाउन जारी छ।
विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाको महामारीमा परी यो सामाचार तयार पार्दासम्म १ लाख २ हजार ६ सय ८७ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजार ३ जना संक्रमितको ज्यान गएको छ । संक्रमित मध्ये ३ लाख ७६ हजार १ सय ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।







डिसी नेपाल








Facebook Comment