दिनभर रोकिए सुर्खेत–दैलेख सीमानामा १४ यात्रु बसहरु

तर्कबहादुर थापा
१४ वैशाख २०७७ २१:४४

काठमाडौं । विहानदेखि सुर्खेत–दैलेखको सीमानामा रोकिएका बसहरु छोडिएको छ । दैलेको गुँरासेमा रोकिएका १४ बसहरु ट्रेसिङ विवरण आएपछि छोडिएको दैलेखका प्रहरी प्रमुख (प्रहरी नायव उपरिक्षक) हरीबहादुर वलीले जानकारी दिए ।

कोरोनाका महामारी फैलिएका बेला कहाँबाट आउने र कहाँ जाने भन्ने कुनैपनि विवरण नभएका कारण बसहरुलाई रोकिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । उनले भने, ‘बसहरु आए हामीले ट्रेसिङ विवरण माग्यौं, विवरण नभएकाले रोक्यौं।’

बाहिर जिल्लाबाट दैलेख आउने र दैलेख भएर अन्य जिल्लामा जाने सम्पूर्ण यात्रुहरुको जानकारी राख्ने गरेको सुनाउदै प्रजिअ कटेलले भने, ‘लकडाउन भएको छ । सबैलाई थाहा छ । यस्तो महामारीका बेला कुन मान्छे कहाँबाट आउने, कहाँ जाने भन्ने सम्पूर्ण जानकारी त राख्नु पर्‍यो । भोली कोही कसैलाई केही भएको खण्डमा हामीले ‘कन्ट्यक्ट ट्रेसिङ’ गर्नु पर्दा त गाह्रो हुन्छ नि । कसलाई कहाँ गएर सोध्नु समस्या हुँदैन त ? यो समस्या न होस भनि हामीले रोकेका हौं’।

हालसम्म बाहिरी जिल्लाबाट १ हजार भन्दा बढी मानिस भित्रिएको जानकारी दिदै उनले भने, ‘हामीले आजसम्म दैलेख आएका सम्पूर्णको विवरण तयार गरेका छौं । ११ वटै पालिकाका सम्पूर्ण वडाहरुमा वडाअध्यक्षको जिम्मेवारीमा करानामा गराएर बाहिरबाट आएकालाई छोडेका छौं । यतिधेरै सावधानी अपनाउँदा अपनाउँदै पनि विना विवरणका बसहरुमा आएका यात्रुका कारण कोरोनाको संक्रमणको चिन्ता लागेर रोक्यौं।’

दैलेखका हरेक पालिकामा स्वास्थ्यकर्मि सहितको डेस्कहरु संचालन गरेको पनि प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिए । जिल्लाका हरेक नागरिको सुरक्षामा पूर्ण ध्यान दिएको बताउदै प्रजिअ कटेलले भने, ‘हामीले जिल्लाका हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँनु पर्छ, अतः बसहरुमा विहानदेखि रहेका नागरिकको पनि चिन्ता छ । चिन्ता भएर के गर्नु ? पठाउने मान्छे, समूह र स्थानीय सरकारको कमजोरीका कारण उहाँहरुले दुःख पाउनु भयो । मैले धेरै केही गरेको हैन । कोरोनाको सम्भावित जोखिमबाट बच्न सरकारले अवलम्बन गरेको नीतिको मात्र पालन गरेको हो।’

कर्णाली प्रदेशका मुख्यमन्त्री लगाएत मन्त्रीहरुले पठाएका बसहरु भन्ने सञ्चार माध्याममा आए पनि आफुले विवरणमागेको उनले बताए । उनले भने, ‘त्यो लेख्नेले लेखे होलान, उहाँहरुले तेसरी पठाउनु भयो भन्ने त मलाई लाग्दैन, जो भए पनि हामीले खोजेको ट्रेसिङ विवरण हो। मैले मुख्यमन्त्री ज्यू संग पनि समन्वय गरेको छु उहाँले पनि हामीबाट हुने गर्छौ भन्नु भएको छ।’

विहानदेखि नै रोकिएका बसहरु ट्रेसिङ विवरण आएपछि बेलुका छोडिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *