भौगोलिक जोखिमका चार हजार २ सय बढी भूकम्पपीडितलाई जग्गा

डिसी नेपाल
१७ वैशाख २०७७ १७:३०

काठमाडौं । असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

आठ हजार ७ सय ४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

भौगोलिकरूपमा पहिरो, बाढी लगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले पुनःनिर्माणका लागि जग्गा व्यवस्था गरेको हो । यसैगरी ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ । २७ वटा निर्माणाधीन छन् । विभिन्न जिल्लामा ७ सय ६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किमीको काम सम्पन्न भएको छ । ३ सय १९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा छ ।

पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब गरी तीन खर्ब ८१ अर्ब खर्च भएको छ । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीबाट बच्न एक महिनादेखि लकडाउन जारी रहेकाले पुनःनिर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । कोरोनाबाट स्थिति सहज हुनासाथ पूर्ववत्रूपमा नै पुनःनिर्माणका काम हुने विश्वास पनि प्राधिकरणले लिएको छ ।

कोरोनाका कारण जारी बन्दाबन्दीले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती भने थपिदिएको सहप्रवक्ता घिमिरेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.