डिसी नेपालको सल्लाहकार सम्पादकमा यशोदा तिम्सिना
काठमाडौं । डिसी नेपालले अनलाइन संस्करणका लागि यशोदा तिम्सिनालाई सल्लाहकार सम्पादकमा नियुक्त गरेको छ। डिसी नेपाल संचालक समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो।
करिव दुई दशक पत्रकारितामा संलग्न तिम्सिनाले सन्ध्याकालीन दैनिक महानगरबाट पत्रकारिता शुरु गरेकी हुन् । उनी कान्तिपुर पब्लिकेसनको नेपाल म्यागेजिनको प्रकाशनपूर्वदेखि नै सो टिममा संलग्न थिइन्।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुने तिम्सिना पहिलो महिला पत्रकार हुन्। उनीभन्दा अघि क्षेत्रीयस्तरबाट मात्रै महिला उपाध्यक्ष भएका थिए। तिम्सिनाले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा र पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी छन्। यसैगरी सञ्चारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट लामा र छोटा तालिम पनि प्राप्त गरेकी छन्।
७७ मध्ये ७६ जिल्ला र तीन दर्जनभन्दा बढी देश पुगेको अनुभव छ उनीसँग। पछिल्लो समय राष्ट्रिय सूचना आयोगमा आयुक्त रहेकी तिम्सिनाको कार्यकाल गत पुसमा पूरा भएको थियो।
डिसी नेपाल संचालक समितिले तिम्सिनालाई आफ्नो सम्पादकीय टिममा सल्लाहकारको भूमिकामा स्वागत गर्दै व्यवसायिक पत्रकारिताका माध्यमबाट नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली भाषी जनसमूहलाई तथ्यपरक सूचनाको हकदार बनाउने अभियानमा योगदान पुग्ने विश्वास लिएको छ।
No ads found for this position


डिसी नेपाल
बधाई छ म्याडमलाई