एन्फा भवन विवाद : कसरी निर्माण भएको थियो फुटबल सङ्घको भवन

डिसी नेपाल
१२ जेठ २०७७ १६:४४

काठमाडौं । ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको भवन (एन्फा कम्प्लेक्स) मा अहिले कोरोना सङ्क्रमणबाट प्रभावितहरूलाई राख्ने गृहकार्य शुरू भएको बताइएको छ। कम्प्लेक्सभित्र बनेको १ सय ५० बेड क्षमताको एन्फा होस्टेलमा देशभरबाट छानिएर आएका युवा फुटबल खेलाडीहरू अभ्यासका लागि बस्ने गर्छन्। राष्ट्रिय टोलीका खेलाडीहरू बन्द प्रशिक्षणका बेला राखिने स्थान पनि एन्फा होस्टल नै हो।

चार तले उक्त होस्टेलमा भुइँ तलामा खाना खाने मेश र जिमखाना छ भने दोस्रो र तेस्रो तला युवा खेलाडीका लागि तथा चौथो तल्लामा राष्ट्रिय टिमका खेलाडीहरू बस्ने गर्छन्। दुई दशक अगाडि बनाइएको एन्फा कम्प्लेक्स नेपाली खेलसङ्घले गरेको पहिलो नमुना कार्य मानिन्छ। नेपालमा झन्डै दुई सय वटा राष्ट्रिय खेल सङ्घहरू रहेपनि आफ्नै भवन र मैदान बनाउने एन्फा पहिलो सङ्घ बनेको थियो। एन्फा कम्प्लेक्स भित्र कार्यालय भवन, खेलाडी होस्टेल र फुटबल मैदान छ। तत्कालीन अध्यक्ष गणेश थापाकै कार्यकालमा उक्त कम्प्लेक्सको निर्माण गरिएको कागजातले देखाउँछ।

विवाद

गत शुक्रवार अखिल नेपाल फुटबल सङ्घले प्रकाशित गरेको टेक्निकल रिपोर्ट सम्बन्धी पुस्तकमा एन्फा कम्प्लेक्स सन् २००० मा फिफाले दिएको गोल प्रोजेक्टबाट निर्माण गरिएको उल्लेख भएपछि विवाद शुरू भएको छ। एन्फाका पुर्व अध्यक्ष थापाले इतिहास बङ्ग्याउन खोजेको भन्दै त्यसमा कडा आपत्ति जनाँउदै सामाजिक सञ्जालहरुमा आक्रोश पोखे।

पुर्व अध्यक्ष थापाले भने, “गोल प्रोजेक्ट भन्ने योजना शुरू हुनु अगाडि नै मेरो पालामा कम्प्लेक्स बनाएका हौँ। पछि फिफाले हाम्रो योजनालाई नमुना परियोजना मान्दै फिफामा प्रस्तुत गरेको हो।” एन्फाका वर्तमान कार्यसमितिसँग मतभेद रहेको भन्दैमा इतिहासलाई तोडमोड गर्न नहुने थापाको तर्क थियो। एन्फाका वर्तमान पदाधिकारीहरु टेक्निकल किताबमा गल्ती भएको स्वीकार्छन्।

महासचिव इन्द्रमान तुलाधर भन्छन्, “इतिहास विगार्न खोजेको होइन, प्राविधिक गल्ती हुन गएको हो। त्यसको लागि माफी माग्नुपर्छ भने तयार छौँ।” तर उनले अहिलेको एन्फाको स्वरूपमा गोल प्रोजेक्टको ठूलो भाग परेको कुरा पनि बिर्सिन नहुने बताए। उनले भने, “कुनै एक ब्यक्तिले होइन, एन्फा कम्प्लेक्स बनाउन स्वर्गीय ललितकृष्ण श्रेष्ठ लगायत हामी थुप्रैले पनि मेहनत गरेका छौँ।”

कसरी बन्यो त एन्फा कम्प्लेक्स ?

सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका निम्ति जग्गा खोजी गरिने क्रममा सातदोबाटोको सरकारी जग्गा खेलकुद परिषद्‌ले प्राप्त गरेको थियो। सोही क्रममा सरकारबाट झन्डै २६ रोपनी जग्गा अखिल नेपाल फुटबल सङ्घले पायो। सन् १९९८ मा थापा नेतृत्वले दुई वर्ष लगाएर कार्यालय, खेलाडी होस्टेल र मैदानको निर्मण सम्पन्न गर्‍यो। पुर्व अध्यक्ष थापाले अघिल्लो वर्ष नेपालमा आयोजना गरेको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजनाबाट बचेको पैसाबाट काम थालेको स्मरण गर्छन्।

थापाले भने, “विदेशी खेलाडीहरूलाई सस्तो दरमा होटलमा राखेर हामीले पैसा जोगायौँ। प्रायोजक वर्ल्ड स्पोर्टस् ग्रुपबाट रकम पायौँ। टिकट बिक्रीबाट पनि राम्रै आम्दानी भएपछि भवन बनाउने आँट आयो र काम थाल्यौँ।” साफ च्याम्पियनसिपको त्यो पहिलो संस्करण थियो।

तत्कालीन उपाध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको संयोजकत्वमा दुई वर्ष लगाएर तयार भयो। २ करोड १८ लाख रुपैँयामा भवन निर्माण सम्पन्न भएको थापाले बताए। उनले भने, “एन्फाको माइन्युटमा नै हामीले पछि तिर्ने गरी पैसा लिएर बनाउने निर्णय गरेका छौँ। बरु गोल प्रोजेक्टको लागि भने यसले बाटो देखाइदियो।”

गोल प्रोजेक्ट

सन् २००१ बाट गोल प्रोजेक्ट शुरू भयो। पहिलो पटक एशियाबाट नेपाल, जोर्डन र प्यालेस्टाइनले उक्त प्रोजेक्ट पाएका थिए। पहिलो गोल प्रोजेक्टबाट एन्फाले ललितपुरको च्यासल, पूर्वमा धरान र पश्चिममा बुटवलमा खेल मैदान बनाएको थियो। दोस्रो गोल प्रोजेक्टबाट पाएको रकम भने एन्फा कम्प्लेक्सको स्तरोन्नति हुन थालेको हो। दोस्रो गोल प्रोजेक्ट अन्तर्गत एन्फाले राष्ट्रिय टोली बस्नका लागि भन्दै खेलाडी होस्टेलमा चौथो तल्ला थपेको हो। ५० बेडको उक्त तला तीन तारे होटल बराबरको मापदण्डमा बनाइएको बताइन्छ।

तेस्रो गोल प्रोजेक्ट अन्तर्गत मैदानमा कृत्रिम घाँसे मैदान निर्माण भयो भने चौथो गोल प्रोजेक्टबाट नयाँ प्यारापिट निर्माण भएको अधिकारीहरू बताउँछन्। निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ भन्छन्, “हामीले गोल प्रोजेक्ट चारबाट पुरानो प्यारापिट भत्काएर नयाँ प्यारापिट र लुगा फेर्ने चेन्जिङ रुम बनाएका हौँ। ६ हजार सिट क्षमता भएको यही मैदान एन्फाले पाँच वर्ष अगाडि घरेलु मैदानको मान्यता पायो।”

निकै व्यस्त रहने यो मैदानमा एन्फा एकेडेमीका खेलाडीहरूलाई नियमित प्रशिक्षणका अलावा यु–१९ साफ च्याम्पियनशिप, शहिद स्मारक ए, बी र सी डिभिजन लगायतका खेलहरू सञ्चालन हुँदै आएको छ।

स्रोत : बीबीसी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *