संविधान संशोधन विधेयक १८ गते भन्दा अगाडि संसदमा पेश नहुने

डिसी नेपाल
१५ जेठ २०७७ १४:१२

काठमाडौं। सरकारले बुधबार नै संसदमा पेश गर्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गते भन्दा अगाडि संसदमा पेश नहुने भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १८ गतेसम्मको समय माग गरेपछि संविधान संशोधन विधेयक तत्काल संसदमा पेश नहुने भएको हो।

कांग्रेसले संविधान संशोधनका विषयमा छलफल गर्न शनिबार केन्द्रीय समितिको बैठक बोलाएको छ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग १७ गते केन्द्रीय समिति बैठक बोलाएको र १८ गते पछाडिमात्रै संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राख्न आग्रह गरेका थिए।

यसअघि सरकारले बुधबार नै संधिवान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको थियो। प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा चढिसकेको विधेयकलाई कांग्रेसको आग्रहमा हटाइएको थियो।

सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर गत बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि निसान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो।

संधिवान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन सत्तारुढ दल नेकपासँग छैन। त्यसैले यो विषयमा प्रतिपक्ष दलको सहयोग आवश्यक पर्छ। १७ गते बस्ने कांग्रेस केन्द्रीय समितिको निर्णयका आधारमा सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *