नेपाली कांग्रेसको निष्कर्ष : बजेट कार्यकर्ता पाल्न प्रचार बढी परिणाम कम

डिसी नेपाल
१६ जेठ २०७७ २२:२४

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेट परिणाममुखी भन्दा प्रचारमुखि भएको निष्कर्ष निकालेको छ। शुक्रबार कांग्रेस संसदीय दलले आयोजना गरेको बजेट सम्बन्धी विज्ञहरुको छलफलले यस्तो निष्कर्ष निकालेको नेपाली कांग्रेसका सांसद रंगमति शाहीले जानकारी दिइन्।

सरकारले कार्यकर्ता पाल्न बजेट ल्याएको उनको भनाई छ । उनले भनिन्, ‘सरकारले ल्याएको बजेट कार्यकर्तामुखी भएको छ । परिणाम दिनेखालको बजेट छैन भन्ने हाम्रो संसदीय दलले आयोजना गरेको छलफलमा विज्ञहरुले पनि बताउनु भएको छ।’ उनले थपिन्, ‘जसरी गत वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर कार्यकर्तालाई झारपात उखेल्न लगाएर खाइयो यो बजेट पनि त्यो भन्दा फरक भएको पाइएको छैन।’

कोरोना नियन्त्रणका लागि छुट्याइएको बजेट पनि अपुग भएको उनले बताइन् । उनले भनिन्, ‘कोरोना नियन्त्रणका लागि छुट्याइएको ६ अर्ब बजेट ६ लाखको परीक्षण गर्न मात्र पुग्छ। कोरोना नियन्त्रणको लागि यो बजेट धेरै कम छ। यो त सरकारले प्रचारका लागि मात्र बजेट ल्याएको ठहरिन्छ।’

‘जनताको आखाँमा छारो हाल्ने र कार्यकर्ता पाल्ने बजेट हो,’ शाहीले भनिन्, ‘रेल र पानी जहाज जस्ता विषयवस्तुमा खर्च नगरेर सबै रकम कोरोना रोकथाम तथा नियन्त्रणमा राख्नु पर्ने वा यस पछि आउने अरु यस्तै सरुवारोगको नियन्त्रणका लागि छुट्याउनु पर्ने दुवै भएको छैन।’

कांग्रेस संसदीय दलले आयोजना गरेको छलफलमा विज्ञका रुपमा पूर्व अर्थ मन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द राज पोखरेल र डा. स्वर्णीम वाग्ले तथा अर्थविद् डा. विश्व पौडेललेको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *