कोरोनाले लाखौंको ज्यान लिँदा शान्त रहेको अमेरिकामा एकजनाको मृत्युले किन आगो सल्कियो ?

डिसी नेपाल
१८ जेठ २०७७ १०:०२

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण लाखौंको मृत्यु भइसकेको छ । नेपाली समयअनुसार आइतबार बिहानसम्म अमेरिकामा १ लाख ५ हजार ५ सय जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। यति धेरैको ज्यान जाँदासम्म पनि अमेरिका तुलनात्मक रुपमा शान्त थियो । तर, मे २५ मा एक जना अश्वेत व्यक्तिको मृत्यु भएपछि भने अमेरिकामा आगो लागेको छ । यहाँ ठूलो परिमाणमा विरोध प्रदर्शन भइरहेको छ ।

४६ वर्षका अश्वेत नागरिक जर्ज फ्लोएडको पुलिस कस्टडीमा मृत्यु भएपछि अहिले अमेरिका जलिरहेको छ । विरोध प्रदर्शन र हिंसा यतिसम्म बढेको छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सेनालाई कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशन दिएका छन् । वाशिङटन, न्यूयोर्क, क्यालिफोर्निया लगायतका कैयौं शहरमा विरोध प्रदर्शन भइरहेका छन् । आखिर लाखौंको मृत्युमा भन्दा एक जनाको मृत्युमा अमेरिका यति धेरै किन तात्यो ?

पुलिस कस्टडीमा ज्यान गुमाउने जर्ज फ्लोएड अफ्रिकी अमेरिकी समुदायका थिए । घटना गत सोमबार मिन्नेसोटा राज्यको मिनियापोलिस शहरमा भएको थियो । यो घटनालाई लिएर अमेरिकीहरुको आक्रोश त्यतिबेला उत्कर्षमा पुग्यो जब घटनाको एउटा भिडियो सार्वजनिक भयो । भिडियोमा सडकमा लडेका फ्लोएडको घाँटीलाई एक पुलिसले घुँडाले दबाएर राखेको देखिएको छ । यस क्रममा फ्लोएडले आफूलाई सास फेर्न गाह्रो भएको भनिरहेका छन् ।

ती पुलिसले फ्लोएडको घाँटी करिब ८ मिनेटसम्म दबाइराखेका छन् । यस क्रममा फ्लोएडको मृत्यु भयो । जर्ज अश्वेत थिए जबकि उनको घाँटी थिच्ने पुलिसकर्मी गोरा थिए । फ्लोएडको मृत्युले अमेरिकामा फेरि एकपटक काला र गोराबीचको विभेदबाट बहस सुरु भएको छ । अमेरिकामा लामो समयदेखि अश्वेतहरु प्रताडना र पूर्वाग्रहको शिकार हुँदै आएका छन् । भिडियो भाइरल भएपछि ४ जना पुलिसकमसर््लाई बर्खास्त गरिएको छ र जाँचको आदेश दिइएको छ । तर, प्रदर्शनकारीहरुले ती पुलिसकर्मीलाई गिरफ्तार गरेर हत्याको अभियोगमा मुद्दा चलाउनुपर्ने मागसहित प्रदर्शन जारी राखेका छन् ।

घटनाका विषयमा मिनियापोलिसका मेयर जेकब फ्रेले यदि फ्लोएड श्वेत भएको भए आज उनी जीवित हुने बताएका छन् । पूर्व राष्ट्रपति बाराक ओबामाले २०२० को अमेरिकामा यस्तो घटना सामान्य हुन नहुने बताएका छन् । घटनाको कैयौं दिनपछि फ्लोएडको घाँटीलाई घुँडाले थिच्ने पुलिसकर्मीमाथि थर्ड डिग्री हत्याको आरोप लगाइयो । तर, फ्लोएडको लागि न्यायको माग गरिरहेका अमेरिकीहरु सडकमा उत्रिए ।

अमेरिकाका करिब १ दर्जन शहरमा प्रदर्शन भएका छन् । मिन्नसोटा राज्यमा प्रदर्शनकारीहरुले पुलिस स्टेशनमै आगो लगाइदिएका छन् । राज्यमा इमरजेन्सीको घोषणा गर्नु परेको छ । पुलिसका अनुसार जर्जमाथि आरोप लगाइएको थियो कि उनले २० डलरको नक्कली नोट दिएर एक पसलमा सामान किन्ने कोसिस गरेका थिए । पुलिसले फ्लोएडलाई गिरफ्तार गर्न खोज्दा उनले शारीरिक बल प्रयोग गरेर विरोध गरेपछि पुलिसले पनि बल प्रयोग गर्नु परेको सफाइ दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *