व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्ध प्रतिबन्धलाई रोकेको खुलासा

डिसी नेपाल
९ असार २०७७ ८:२५

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “चीनसँग व्यापार सम्झौताको मध्यतिर रहेकोले” सिन्जियाङमा मुस्लिमहरूलाई नियन्त्रणमा राखिएको विषयलाई लिएर चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध नलगाएको बताएका छन्। ट्रम्पले “ठूलो सम्झौता हासिल गर्नुको अर्थ आफूले अतिरिक्त प्रतिबन्धहरू नलगाउने” भएको एक्सिओस न्यूजलाई बताए।

पुनर्शिक्षाका लागि र दण्डित गर्न भन्दै बेइजिङले सिन्जियाङमा करिब १० लाख उइगुर मुस्लिमहरूलाई नियन्त्रणमा राखेको छ। तर उनीहरूप्रति गलत व्यवहार गरिएको कुरा चीनले अस्वीकार गर्दै आएको छ। ट्रम्पका एक सहयोगी तथा पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफूद्वारा लिखित नयाँ पुस्तकमा आरोपहरू लगाएपछि यो विषय बाहिर आएको हो।

आरोप

गत वर्ष आयोजित एक शिखर बैठकका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई “सही काम” भन्दै देशको पश्चिमी क्षेत्रमा शिविरहरू निर्माणप्रति समर्थन जनाएको बोल्टनले आरोप लगाएका छन्। ट्रम्पले शुक्रवार अन्तर्वार्ताका क्रममा भनेका कुरा एक्सिओस समाचार वेबसाइटले आइतवार प्रकाशित गरेको हो।

चीनको सिन्जियाङमा ‘एपमार्फत् लाखौँ नागरिकमाथि निगरानी’

शिविरको विषयलाई लिएर चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूविरुद्ध थप प्रतिबन्ध नलगाउनुको कारणबारे सोध्दा ट्रम्पले भनेका छन्, “हेर्नूस् हामी एउटा महत्त्वपूर्ण सम्झौताको मध्यतिर थियौँ।” मानव अधिकारलाई लिएर चीनविरुद्ध कदमहरू नचालेको भन्दै ट्रम्प प्रशासनले आलोचना खेप्दै आएको छ।

यद्यपि चीनले उइगुर मुस्लिमप्रति गर्दै आएको व्यवहारलाई लिएर कतिपय अमेरिकी सरकारी निकायले खुला रूपमा आलोचना गर्दै आएका छन्। विदेश मन्त्रालयले उइगुर मुस्लिमहरूप्रति दुर्व्यवहार गरिएको र उनीहरूलाई यातना दिइएको आरोप लगाउने गरेको छ। वाणिज्य मन्त्रालयसँगै विदेश मन्त्रालयले पनि सिन्जियाङ मामिलालाई लिएर केही चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।

मुखपत्र

अमेरिकाले थप चारवटा चिनियाँ सञ्चारमाध्यमलाई विदेशी मिसनको हिस्सा भएको घोषणा गरेको छ जुन कदमले वाशिङ्गटन र बेइजिङ्गबीच तनाव बढाउने ठानिएको छ।

पूर्वी एशियाका लागि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ डेविड स्टिलवेलले सरकारद्वारा सञ्चालित द पिपुल्स डेली, ‍द ग्लोबल टाइम्स, चाइना सेन्ट्रल टेलिभिजन र द चाइना न्यूज सर्भिस झूटा प्रचारबाजी गर्नका लागि चिनियाँ सरकारको मुखपत्र भएको बताए। द वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारलाई चीनले देश निकाला गर्ने आदेश दिएपछि गत फेब्रअरी महिनायता दुई देशले एकअर्काविरुद्ध कदमहरू चाल्दै आएका छन्।

यसअघि यो वर्षको शुरूतिर अमेरिकाले चिनियाँ समाचार संस्था सिन्हुआसहित पाँचवटा सञ्चारमाध्यमविरुद्ध त्यस्तै कदम चालेको थियो। ती संस्थाका लागि अमेरिकामा कार्यरत चिनियाँ नागरिकको सङ्ख्या कटौती गर्न आदेश दिइएको थियो। यसअघि चीनले संयुक्त राज्य अमेरिकाले शीतयुद्धकालीन मानसिकता बोकेको आरोप लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *