ट्रम्प पत्नी मेलानियाको मूर्ति उनकै मातृभूमि स्लोभेनियामा जलाइयो

डिसी नेपाल
२५ असार २०७७ १६:३०

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको एउटा काठको प्रतिमा स्लोभेनियास्थित उनको गृहनगरनजिकै जलाइएको छ।

सो प्रतिमा निर्माण गरेका अमेरिकी कलाकार ब्र्याड डाउनीका अनुसार अमेरिकी स्वतन्त्रता दिवसको दिन जुलाई ४ मा सो प्रतिमालाई क्षति पुर्‍याइएको थियो। बर्लिनमा रहेका डाउनीले जुलाई ५ मा सो प्रतिमालाई त्यहाँबाट हटाउन लगाए।

प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ। ह्वाइट हाउसले यस विषयमा प्रतिक्रिया दिएको छैन। मेलानिया ट्रम्पसँग थोरै मात्रै समानता भएको सो प्रतिमा उनको गृहनगर सेभ्निकाको बाहिरी क्षेत्रमा रहेको एउटा रूखको काठमा कुँदिएको थियो।

डोनल्ड ट्रम्पको राष्ट्रपतीय शपथ ग्रहण समारोहमा सहभागी हुँदा मेलानियाले लगाए जस्तै नीलो लुगा देखाउन रङ्गरोगन गरिएको र एउटा हातले आकाशतिर सङ्केत गरेको देखिने उक्त प्रतिमा सन् २०१९ को जुलाईमा अनावरण गरिएको थियो।

सहरका केही बासिन्दाले उक्त प्रतिमालाई मेलानिया ट्रम्पसँग अमिल्दो कार्टुनजस्तो भनेर टिप्पणी गरेका थिए। डाउनीले रोएटर्सलाई आफूले कसले र किन सो प्रतिमालाई क्षति पुर्‍यायो जान्न चाहेको बताएका छन्।

स्लोभेनिया पूर्वयुगोस्लोभियामा हुँदा त्यहाँ जन्मेर हुर्केकी मेलानिया ट्रम्प सन् १९९० को दशकमा अमेरिका आएकी थिइन्। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि सेभ्निका पर्यटकीय आकर्षण बनेको छ।

त्यहाँका स्थानीय व्यवसायीहरूले मेलानिया ट्रम्पको नाम भएका चप्पल, केक र बर्गरजस्ता सामानहरू बेच्न थालेका छन्। गत वर्षको अगस्टमा स्लोभेनियाको राजधानीनजिकै राष्ट्रपति ट्रम्पको २६ फिट अग्लो काठको प्रतिमा अनावरण गरिएको थियो। तर गत ज्यानुअरी महिनामा अज्ञात व्यक्तिहरूले ट्रम्पको उक्त प्रतिमामा आगो लगाएर खरानी बनाइदिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *